
जिल्ला समन्वय समिति, काठमाडौंको कार्यालयमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षको पहिलो छ महिनामा सम्पन्न भएका योजना, बजेट कार्यान्वयनको अवस्था, कृषि उत्पादन वृद्धि तथा पूर्वाधार विकासका विषयमा विस्तृत समीक्षा गरिएको थियो। सहभागीहरूले योजनाको प्रभावकारिता बढाउन समन्वय, अनुगमन र कार्यान्वयन पक्षलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याएका थिए।
कार्यक्रममा कृषि क्षेत्रसँग सम्बन्धित विज्ञहरूले आधुनिक कृषि प्रणाली विस्तार, उत्पादन वृद्धि र प्रविधिमैत्री खेती प्रणालीका लागि सरकारी निकाय र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको धारणा राखे। उनीहरूले ‘पब्लिक–प्राइभेट पार्टनरसिप’ मोडेलमार्फत कृषिमा लगानी, बजार पहुँच र प्रविधि हस्तान्तरणलाई प्रभावकारी बनाउन सकिने बताए।
समीक्षा बैठकले आगामी छ महिनाका कार्यक्रमलाई अझ नतिजामुखी, पारदर्शी र जनमुखी बनाउने साझा प्रतिबद्धता समेत व्यक्त गरेको छ।
कार्यक्रमको विशेष आकर्षण कृषि क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएका कृषकहरूको सम्मान थियो। विभिन्न विधामा सक्रिय कृषकहरूलाई सम्मानपत्रसहित कृषि सामग्री प्रदान गरिएको थियो।
सलोम एग्रिकल्चर र मुक्तिनाथ कृषि कम्पनीको सहकार्यमा आधुनिक कृषि औजार तथा सामग्री कृषकहरूलाई हस्तान्तरण गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा सहभागीहरूले कृषकलाई सम्मान र प्रोत्साहन गर्ने यस्ता पहलले व्यावसायिक कृषिप्रति आकर्षण बढाउने तथा निजी क्षेत्रको सहभागितालाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका थिए।