कम्पनीका अनुसार २०७९ असोज १८ देखि २४ गतेसम्म परेको अविरल वर्षाका कारण कर्णाली प्रदेशअन्तर्गत कालिकोट जिल्लाका विभिन्न स्थानीय तहहरू—शुभकालिका गाउँपालिका (वडा नं. ७ र ८), महावै गाउँपालिका (वडा नं. ५ र ६), खाँडाचक्र नगरपालिका (वडा नं. १ र ५) तथा तिलागुफा नगरपालिका (वडा नं. १० र ७)—मा घरपरिवार प्रभावित भएका थिए। त्यस्तै, तिलागुफा नगरपालिका वडा नं. ५ र ६ तथा खाँडाचक्र नगरपालिका वडा नं. १० मा आगलागीबाट पीडित परिवारहरू समेत रहेका थिए।
उक्त विपद् प्रभावित क्षेत्रमा कुल ४३ घरपरिवारलाई लक्षित गर्दै राहत सामग्री वितरण गरिएको कम्पनीले जनाएको छ। राहत वितरण कार्यक्रम कम्पनीको सुर्खेत शाखाका शाखा प्रमुख विश्वराज बोगटीको उपस्थितिमा सम्पन्न भएको थियो।
कार्यक्रममा सहभागी पीडित परिवारहरूले कम्पनीले कठिन परिस्थितिमा गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गरेका थिए। दुर्गम क्षेत्रमा पुगेर मानवीय सेवामा सक्रिय भूमिका निर्वाह गरेको भन्दै स्थानीयले संस्थाको पहलको प्रशंसा गरेका छन्।
कम्पनीले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा विपद् व्यवस्थापनजस्ता क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ। सामाजिक हितसँगै व्यवसायिक विस्तारलाई सन्तुलनमा राख्दै दीर्घकालीन विश्वास निर्माण गर्ने लक्ष्य कम्पनीले लिएको छ।
हाल कम्पनीले देशभर १६९ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ। ५ अर्ब रुपैयाँभन्दा बढी पूँजी र २० अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको कम्पनीमा २० हजारभन्दा बढी अभिकर्ता कार्यरत रहेका छन्।