वैशाख १५ देखि काठमाडौंबाट लुम्बिनीसम्म ‘शान्तिका लागि साइकल यात्रा’ हुने


काठमाडौं। नेपालमा शान्तिको सन्देश फैलाउने उद्देश्यसहित ‘टुर डे लुम्बिनी:पेडल फर पीस २०२६’ आयोजना हुने भएको छ।

टुर दी लुम्बिनीका संस्थापक मेघ आलेका अनुसार यही वैशाख १५ देखि १९ गतेसम्म काठमाडौंदेखि लुम्बिनीसम्म साइकल यात्रा हुने भएको हो । यस शान्तिका लागि साइकल यात्रामा नेपाल तथा विदेशका साइकल यात्री, युवा, कर्पोरेट क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सक्रिय सहभागिता रहने जनाइएको छ । शान्ति, सहअस्तित्व र पुनर्निर्माणको सन्देशलाई जनस्तरसम्म पुर्‍याउने लक्ष्यसहित आयोजना हुँदै आएको यो अभियान सन् २०१२ देखि निरन्तर सञ्चालनमा छ ।

सामाजिक उद्यमी तथा अशोका फेलो मेघ आलेको अवधारणामा सुरु भएको यस अभियानलाई विश्व साइकल यात्री पुष्कर शाहले नेतृत्व गर्दै आएका छन्। गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट विश्वभर शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यसहित अभियानले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा ‘शान्ति केन्द्र’का रूपमा स्थापित गर्ने दीर्घकालीन लक्ष्य लिएको छ ।

नेपाल भारत र चीनजस्ता दुई ठूला अर्थतन्त्रबीच अवस्थित भएकाले विश्व शान्तिमा महत्वपूर्ण भूमिका खेल्न सक्ने सम्भावना रहेको संस्थापक आलेले जानकारी दिए । यस अभियानमार्फत नेपाललाई शान्ति संवादको केन्द्रका रूपमा प्रवर्द्धन गर्ने प्रयास गरिएको जनाइएको छ । यस वर्षको संस्करण विशेषगरी युवाहरूको सक्रिय सहभागितामा केन्द्रित रहनेछ । डिजिटल युगमा युवाको संलग्नतालाई शारीरिक सहनशीलता र सामाजिक उत्तरदायित्वसँग जोड्दै दिगो, पारदर्शी र शान्तिपूर्ण भविष्यका लागि आवाज उठाउने मञ्चका रूपमा यस अभियानलाई विकास गर्ने लक्ष्य राखिएको जनाइएको छ । यात्राका विभिन्न चरणहरूमा स्थानीय समुदायको पनि सहभागिता रहने जनाइएको छ।

पत्रकार सम्मलेनमा बोल्दै संस्थापक आलेले भने, “विश्वव्यापी रूपमा रूस–युक्रेन युद्ध तथा अमेरिका–इरान तनावजस्ता घटनाले बढाएको अस्थिरताको सन्दर्भमा यस किसिमका शान्ति अभियानहरूको महत्त्व अझ बढेको छ ।” अभियानले भविष्यमा शान्ति क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई ‘लुम्बिनी शान्ति पुरस्कार’ प्रदान गर्ने योजना पनि अघि सारिएको छ ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत रोबिन रेग्मीले यस किसिमका कार्यक्रमले नेपाललाई अन्तर्राष्ट्रिय रुपमा ब्रान्डिङ गर्न थप मद्दत पुग्‍ने विश्‍वास व्यक्त गरेका छन् । उनले यस कार्यक्रममा अन्तर्राष्ट्रिय सहभागीहरुको संख्या बढाउन सकिएको अवस्थामा यो अभियानले थप बलियो हुने र पर्यटन प्रबर्द्धनमा पनि टेवा पुग्‍ने उनले बताएका छन् । त्यसैगरी बोर्डका मिडिया कन्सल्टेन्ट दिलिप प्रकाश कार्कीले पछिल्लो समय बढ्दो विश्‍वव्यापी द्वन्द्व र युद्धरत पक्षहरुलाई नेपालको लुम्बिनीमा बोलाएर शान्ति संवाद गराउन सकिएको अवस्थामा यसको महत्व थप बढ्ने विचार व्यक्त गरेका छन् । ‘टुर डे लुम्बिनी–पेडल फर पीस’ अभियानले साइकल यात्रामार्फत शान्ति, सहअस्तित्व र विश्वव्यापी ऐक्यबद्धताको सन्देश प्रवाह गर्दै आएको छ ।

ताजा समाचार

जेठ ३ गते मुगुमा छायानाथ ट्रेल अल्ट्रा रेस २०२६ हुने काठमाडौं । मुगुको मुगुम कार्माङ गाउँपालिकाको छायाँनाथमा यही जेठ ३ गते छानाथ ट्रेल अल्ट्रा रेस २०२६ हुने भएको छ । एड्भेन्चर स्पोद्सं’ (साहसिक खेलकुद) मार्फत यहाँको पर्यटकीय सम्भावनालाई मूर्तरूप दिन मुगुम कार्मारोङ गाउँपालिकाको आयोजना र अल नेपाल स्पोद्स फाउन्डेसनको सहकार्यमा आगामी जेठ ३ गते ‘छायाँनाथ अल्ट्रा रेस’ आयोजना हुने भएको हो । नेपाल पर्यटन बोर्डको सभाहलमा बिहीबार पत्रकार सम्मलेन गर्दै गाउँपालिकाले रारा, छायाँनाथ धामसहित मुगुका पर्यटकीय क्षेत्रको समग्र पर्यटन विकास, पूर्वाधार विस्तार र स्थानीय समुदायको आर्थिक सशक्तीकरणमा टेवा पुर्‍याउने उद्देश्यले अल्ट्रा रेस आयोजना गरिएको जानकारी गराएको छ । गाउँपालिकाका प्रतिनिधिहरूले रारा र छायाँनाथ धाम आसपासका क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको आकर्षक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित रणनीतिक कार्यक्रम ल्याइएको जानकारी दिएका छन् । पत्रकार सम्मेलनमा बोल्दै गाउँपालिका अध्यक्ष छिरिङ क्याप्रे लामाले पर्यटनलाई स्थानीय आर्थिक विकासको मुख्य आधारका रूपमा अघि बढाइने स्पष्ट पारे । उनले भने, “मुगु केवल प्राकृतिक सौन्दर्यको केन्द्र मात्र होइन, यो नेपालको पर्यटन सम्भावनाको प्रतीक पनि हो । यसलाई दिगो र व्यवस्थित रूपमा विकास गर्न हामी प्रतिबद्ध छौं ।” यो रेस समुद्री सतहबाट २५५० मिटरबाट सुरु भई छायाँनाथ ४८२० मीको अल्टिच्युडसम्म करिब ३० किलोमिटरको रेस हुनेछ । यस प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीहरूले अनलाइनमार्फत् आवेदन दिन सक्नेछन् । नेपाल एड्भेन्चर रनिङ महासंघको प्राविधिक सहयोग रहने यस प्रतियोगितामा मुगु जिल्लाका स्थानीय बासिन्दाहरूका लागि छुट्टै विधा र सबैको सहभागितालाई प्रोत्साहन गर्न ५ किलोमिटरको ‘फन रन’को समेत व्यवस्था गरिएको छ । प्रतियोगिताका विजेताहरूलाई नगद पुरस्कार, मेडल र प्रमाणपत्रद्वारा सम्मान गरिनेछ । ३० किलोमिटरको मुख्य विधा (महिला तथा पुरुष) तर्फ प्रथम हुनेलाई दुई लाख रुपैयाँ, दोस्रोलाई एक लाख ५० हजार, तेस्रोलाई एक लाख, चौथोलाई ७५ हजार र पाँचौंलाई रु. ५० हजार नगद पुरस्कार प्रदान गरिनेछ । त्यसैगरी, स्थानीयतर्फ प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः रु. ३० हजार, २० हजार र १० हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ । पत्रकार सम्मेलनका क्रममा नेपाल पर्यटन बोर्डका निर्देशक लक्ष्मण गौतमले मुगुम कार्मारोडलाई साहसिक खेल पर्यटनको उत्कृष्ट गन्तव्य बनाउने यस अभियानले पर्यटन प्रबर्द्धनका साथै स्थानीय अर्थतन्त्रमा पनि योगदान पुग्‍ने बताएका छन् । उनले उच्च अल्टिच्युडमा हुने यस उच्च साहसिक खेल गतिविधिले अन्तर्राष्ट्रिय रुपमा पनि छायाँनाथ धामसहित समग्र कर्णालीको पर्यटकीय गन्तव्य प्रबर्द्धान हुने जानकारी गराए । उनले भने, “यो निकै चुनौतीपूर्ण खेल गतिविधि भएकोले सावधानी अपनाउँदै सम्पूर्ण सरोकारवाला निकाय गम्भीर भएर सहयोग गर्नुपर्ने देखिन्छ ।”