काठमाडौँ। कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गिता चौधरीले केरा उत्पादक किसानसँग भेतवार्ता गर्नुभएको छ। मन्त्री चौधरीले किसानसँगको भेटवार्तामा केरा उत्पादन, बजारीकरण, मल आपूर्ति लगायत विषयमा छलफल भएको हो । मन्त्री चौधरीले किसान टिक्न सके मात्र कृषि क्षेत्र टिक्ने उल्लेख गर्दै बीमा, उत्पादन र बजार व्यवस्थापनमा समन्वयात्मक ढंगले काम गर्नुपर्नेमा जोड दिनुभएको छ।
मन्त्री चौधरीका अनुसार नेपालमा उत्पादन हुने कृषि उपजलाई प्राथमिकता दिनु आवश्यक छ भने आपूर्ति व्यवस्थामा पारदर्शिता कायम गर्नुपर्ने उहाँले बताउनु भयो । विश्व बजारमा रासायनिक मलको अभाव देखिए पनि सरकारले यसको सहज आपूर्तिका लागि पहल गरिरहेको मन्त्री चौधरीले जानकारी दिनु भयो । ‘अभावको बहानामा मूल्यवृद्धि गर्नु वैधानिक होइन, कालोबजारी नियन्त्रणमा सबैको सहयोग आवश्यक छ,’ मन्त्री चौधरीले भन्नुभयो ।
कृषि उत्पादनसँगै बजारीकरणमा पनि सरकारले सहजीकरण गरिरहेको स्पष्ट पार्नु भएको छ । उपभोक्तालाई मार पर्ने गरी मूल्यवृद्धि नहुने गरी किसानले उत्पादन र आपूर्तिमा ध्यान दिनुपर्ने बताउनु भएको छ । सो भेटघाटमा किसानहरूले बीमा, मल आपूर्ति, बजारीकरण र नीतिगत समस्याबारे गुनासाे राखेका थिए । किसानहरूले बीमा भुक्तानीमा ढिलाइ, प्रिमियम तिरे पनि क्षतिपूर्ति नपाएको, प्राकृतिक विपत्तिबाट भएको क्षतिको राहत नपाएको जस्ता समस्या उठाएका थिए ।
केरा खेतीमा संलग्न किसानहरूले सीमामा कडाइ, मल अभाव र बजार मूल्यमा अस्थिरताका कारण समस्या भोग्नु परेको बताएका छन् । केही किसानले केरा उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्य भएपनि आवश्यक प्रविधि, मल र नीति सहयोग अभाव रहेको उल्लेख गरे ।
कैलालीका किसान दीपेन्द्र थारुले किसानले लगानी गरे पनि उचित प्रतिफल नपाएको गुनासो गर्नुभयो । ‘किसान सधैं पीडित किन हुने र आपूर्ति कमी हुँदा पनि किसान नै दोषी देखाइन्छ,’ थारुले भन्नुभयो।
चितवनका जनक राज पन्तले जग्गा व्यवस्थापन र नदी किनार क्षेत्रमा खेती प्रवद्र्धन गर्नुपर्ने सुझाव दिनु भएको छ ।
बाराका किसानहरूले कृषि क्षेत्रमा युवा पुस्ता आकर्षित गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा किसानहरूले ५० लाख रुपैयाँसम्मको लगानीमा ८० प्रतिशत बीमा सुविधा भएपनि भुक्तानी प्रक्रिया प्रभावकारी नभएको गुनासो गरेका थिए । एक वर्ष बित्दा पनि बीमा दाबी भुक्तानी नहुने समस्या रहेको उनीहरूले बताएका छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रले बीमा प्रक्रियालाई सहज बनाउन पहल भइरहेको जानकारी दिनु भएको छ । ज्ञान केन्द्रबाट सिफारिसमा ढिलाइ हुँदा क्षतिपूर्ति वितरण प्रभावित भएको उहाँले बताउनुभयो । उहाँले मल आपूर्ति बढाउने, उत्पादन सुधार गर्ने तथा तथ्यांक अद्यावधिक गर्नुपर्ने आवश्यकता औंल्याउनु भएको छ । ‘मलमा कोटा प्रणालीभन्दा आपूर्ति बढाउनेतर्फ ध्यान दिन्छौं,’ उहाँले भन्नुभयो । सचिव मिश्रले देशभर करिब ८ सय कृषि प्राविधिक परिचालन गरिएको जानकारी दिँदै प्रभावकारी उपयोग गर्नुपर्ने बताउनुभयो । साथै सिँचाइ, मल लगायत क्षेत्रमा सरकारले विभिन्न अनुदान उपलब्ध गराउँदै आएको पनि उहाँले स्पष्ट पार्नुभयो ।