काठमाडौं, कृषि विकास बैंक लिमिटेड को ५९औँ वार्षिकोत्सव तथा कृषि विकास बैंक कर्मचारी युनियन नेपाल को चौथो स्थापना दिवसको अवसरमा आयोजित “अन्तर प्रदेश महिला तथा पुरुष फुटसल–२०८२” आजदेखि भक्तपुरस्थित रोयल नेपाल फुटसल मा सुरु भएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ ले प्रतियोगिताको उद्घाटन गर्दै खेलकुदले कर्मचारीबीच आपसी समन्वय, अनुशासन र टीम भावना विकास गर्ने विश्वास व्यक्त गरे। कार्यक्रममा युनियनकी अध्यक्ष जानुका पौडेल ले सहभागी खेलाडीहरूलाई स्वागत गर्दै प्रतियोगिताले सहकार्य र सद्भाव बढाउने बताइन्।
उद्घाटन खेल बैंक व्यवस्थापन टोली र बैंकभित्र क्रियाशील ट्रेड युनियनबीच प्रतिस्पर्धात्मक रूपमा सम्पन्न भएको थियो। दुईदिने प्रतियोगिता भोलि चैत ७ गते सम्पन्न हुने कार्यक्रम रहेको छ।
प्रतियोगितामा विजेता खेलाडीहरूलाई चैत ८ गते भक्तपुरको बोडेस्थित बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा आयोजना हुने युनियनको प्रथम महाधिवेशन समारोहमा सिल्ड, मेडल, नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
सोही अवसरमा महाधिवेशन समारोहमा ख्यातिप्राप्त कलाकारहरूको सांस्कृतिक नृत्य प्रस्तुतिसमेत रहने जनाइएको छ। आयोजकले उक्त कार्यक्रममा सहभागी हुन सबैलाई आमन्त्रण समेत गरेको छ।