काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए)मा सहमतिका आधारमा नयाँ नेतृत्वको लागि सबैमा एकता प्रयास भैरहेको छ। जस अनुसार अध्यक्षमा उम्मेदवारी दिएका डा. हेमराज शर्मालाई समर्थन गर्दै अर्का प्रत्याशी रोविन शेरचनले बरिष्ठ उपाध्यक्षमा मनोनयन दर्ता गरेका छन।
यसअघि बुधबार सम्पन्न मनोनयन दर्तामा अध्यक्ष पदका लागि वर्तमान उपाध्यक्ष डा. हेमराज शर्मा र रविन शेरचन तथा रविन बज्राचार्यले अध्यक्ष पदमा मनोनयन दर्ता गराएका थिए । बज्राचार्यलाई पनि सहमतिमा ल्याउन अहिले प्रयास भैरहेको छ ।
एनआरएनएका अध्यक्षद्वय बद्री केसी र महेश श्रेष्ठसहितको उच्चस्तरीय वार्तामा सहमतिका लागि शेरचन अध्यक्षको दौडबाट पछि हट्न सहमत भएका हुन् । वार्तामा शेरचनलाई वरिष्ठ उपाध्यक्ष बनाउने सहमति भएको हो । साथै अन्य पदका लागि पनि सहमति जुटाउने प्रयास भएको बताइएको छ ।
यसअघि १२औँ महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्व सहमतिबाट टुंग्याउने प्रयास जारी रहे त्यसमा सहमति जुटन सकेको थिएन । एक पक्षले निर्वाचनबाटै नेतृत्व चयन हुनुपर्ने अडान राख्दा अर्को पक्षले सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने बताउदै आएको थियो । यसैबीच मध्यपूर्व क्षेत्रमा विकसित द्वन्द्वका कारण त्यहाँ बसोबास गर्ने नेपालीहरू महाधिवेशनमा प्रत्यक्ष सहभागी हुन नसक्ने अवस्था रहेको भन्दै महाधिवेशन सार्नुपर्ने आवाज पनि उठिरहेको थियो ।