काठमाण्डौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी परेको छ। कुल ६९ पदका लागि परेको उम्मेदवारीमध्ये क्षेत्रीय पदाधिकारीसहित २० जना निर्विरोध निर्वाचित भएका छन्।
आगामी आइतबार हुने निर्वाचनका लागि बुधबार भएको मनोनयनमा डा. हेमराज शर्मा (यूके), रविन बज्राचार्य (अमेरिका) र रविन शेरचन (जापान) ले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।
छ उपाध्यक्ष पदका लागि १० जनाको उम्मेदवारी परेको छ भने महिला उपाध्यक्षमा टिका गुरुङ निर्विरोध निर्वाचित भएकी छन्। निर्विरोध निर्वाचित हुनेमध्ये अधिकांश डा. हेमराज शर्मा निकटवर्ती रहेका बताइएको छ।
महासचिव पदका लागि डा. चिरञ्जीवी खड्का र रामशरण सिम्खडा उम्मेदवार बनेका छन्। दुई उपमहासचिव पदका लागि चार जनाको उम्मेदवारी परेको छ। छ सचिव पदका लागि आठ जनाले उम्मेदवारी दिएका छन्। महिला सचिवमा कञ्चन थापा निर्विरोध निर्वाचित भएकी छन्।
कोषाध्यक्ष पदका लागि कृष्णप्रसाद तिमल्सिना र तिलकप्रसाद गैरेबीच प्रतिस्पर्धा हुने भएको छ। तीन सह–कोषाध्यक्ष पदका लागि दुई जनाको मात्र उम्मेदवारी परेको छ भने महिला सह–कोषाध्यक्षमा गंगा खतिवडा निर्विरोध निर्वाचित भएकी छन्।
महिला संयोजक पदका लागि परसुना कँडेल र रस्मी थापाको उम्मेदवारी परेको छ। युवा संयोजकमा नवीन निउरे र दीपेश खत्री प्रतिस्पर्धामा छन्। अफ्रिका क्षेत्रबाट मनोज विक र अमेरिका क्षेत्रबाट भुवन खरेल निर्विरोध निर्वाचित भएका छन्।
ओसियाना संयोजकमा रमेश जोशी निर्विरोध भएका छन्। एसिया क्षेत्रको एक संयोजक पदका लागि तीन जनाको उम्मेदवारी परेको छ। युरोप संयोजकमा रबोट लिम्बु निर्विरोध निर्वाचित भएका छन् भने मध्यपूर्व संयोजक पदका लागि दुई जनाको उम्मेदवारी परेको छ।
दोस्रो पुस्ता संयोजकमा दीपमाला ढकाल निर्विरोध निर्वाचित भएकी छन्।