निर्वाचन आचारसंहिता उल्लंघनप्रति आयोगको चिन्ता, बालबालिकाको प्रयोग नगर्न आग्रह


ललितपुर। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा देशका विभिन्न स्थानमा देखिएका राजनीतिक गतिविधि र घटनाक्रमप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर चासो व्यक्त गरेको छ। आयोगले निर्वाचनपूर्वको अनुगमन कार्यलाई देशभर तीव्र बनाएको जनाएको छ।

पछिल्लो समय दाङलगायत केही जिल्लामा राजनीतिक दलका कार्यकर्ताबीच विवाद सिर्जना भएको तथा रौतहट र पर्सा जिल्लामा विभिन्न समूहबीच झडप हुँदा निषेधाज्ञा जारी गर्नुपर्ने अवस्था आएको घटनाले शान्ति–सुरक्षा र निर्वाचनको वातावरणमा चुनौती थपिएको आयोगको ठहर छ।

आयोगका अनुसार केही राजनीतिक दल, उम्मेदवार तथा कार्यकर्ताबाट एकअर्काप्रति अमर्यादित र घृणायुक्त अभिव्यक्ति दिने प्रवृत्ति बढ्दो छ, जसले सामाजिक सद्भाव र शान्तिपूर्ण निर्वाचन वातावरणमा नकारात्मक असर पार्न सक्ने देखिएको छ।

त्यस्तै, निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा बालबालिकाको प्रत्यक्ष तथा परोक्ष संलग्नता गराइएको, सामाजिक सञ्जालमा उनीहरूलाई प्रयोग गरिएको तथा आचारसंहिताको पूर्ण पालना नभएको विषय अनुगमनका क्रममा फेला परेको आयोगले जनाएको छ। निर्वाचन प्रक्रियामा बालबालिकाको प्रयोग नगर्न आयोगले राजनीतिक दल, नागरिक समाज, विद्यालय, शिक्षक तथा अभिभावकलाई विशेष आग्रह गरेको छ।

आसन्न निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र मानवअधिकारमैत्री वातावरणमा सम्पन्न गर्न सबै सरोकारवालाले संयमता अपनाउनुपर्ने आयोगको भनाइ छ। सामाजिक तथा सांस्कृतिक सद्भाव विथोल्ने अभिव्यक्ति तथा सामग्री प्रकाशन–प्रसारण नगर्न पनि आयोगले अपिल गरेको छ।