चितवन, जिल्लाको कालिका नगरपालिका वडा नं. ११ सिद्दी अन्तर्गत मझवाङ क्षेत्रमा लगाइएको अन्दाजी चार बिगाहा क्षेत्रफलमा फैलिएको अवैध अफिम खेती प्रहरीले फडानी गरी नष्ट गरेको छ।
प्रहरी चौकी जुटपानी (प्रस्तावित इलाका प्रहरी कार्यालय कालिका) बाट प्रहरी निरीक्षक जय नेपाल थापा को कमाण्डमा खटिएको निर्वाचन प्रहरी सहितको गस्ती टोलीले नियमित गस्ती तथा सूचनाको आधारमा उक्त अवैध खेती फेला पारेको हो।
प्रहरी टोलीले मझवाङ क्षेत्रको भित्री ग्रामीण भूभागमा लुकाईछिपाई गरिएको अफिम खेती स्थलमै फडानी गरी पूर्णरूपमा नष्ट गरेको जनाएको छ। करिब चार बिगाहा क्षेत्रफलमा फैलिएको उक्त खेतीबाट ठूलो परिमाणमा अफिम उत्पादन हुन सक्ने अनुमान गरिएको थियो।

प्रहरीका अनुसार लागूऔषधजन्य बाली उत्पादन तथा ओसारपसार नियन्त्रण गर्ने उद्देश्यले जिल्लाका विभिन्न ग्रामीण तथा दुर्गम क्षेत्रमा निगरानी बढाइएको छ। विशेषगरी निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै परिचालन गरिएको गस्ती टोलीले अवैध गतिविधि नियन्त्रणमा सक्रियता देखाएको हो।
अफिम खेती नेपालमा गैरकानुनी मानिन्छ र यसको उत्पादन, प्रशोधन तथा बिक्री–वितरण लागूऔषध नियन्त्रण ऐन अन्तर्गत दण्डनीय अपराध हो। प्रहरीले यस्ता अवैध खेती गर्ने व्यक्तिको पहिचान तथा संलग्नता सम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ।
स्थानीय तह तथा समुदायसँग समन्वय गरी आगामी दिनमा पनि यस्ता अवैध खेती पूर्ण रूपमा नियन्त्रण गर्न निरन्तर अभियान सञ्चालन गरिने प्रहरीको भनाइ छ।