कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीद्वारा उद्घाटन सत्रलाई सम्बोधन



काठमाडौं। निर्वाचन आयोगद्वारा आयोजित ‘प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ : निर्वाचन र आमसञ्चार’ विषयक कार्यशाला गोष्ठी (मुख्य प्रशिक्षक प्रशिक्षण) कार्यक्रम आजदेखि औपचारिक रूपमा सुरु भएको छ। कार्यक्रममा उद्घाटन सत्रलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन सञ्चार क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहने बताउनुभयो।
उहाँले निर्वाचन प्रक्रियामा आमसञ्चार माध्यम र पत्रकारहरूको जिम्मेवारी झन् बढेको उल्लेख गर्दै सत्य, तथ्य र सन्तुलित सूचना प्रवाहमार्फत मतदातामा सकारात्मक सन्देश पु¥याउन आग्रह गर्नुभयो। “निर्वाचन केवल मत हाल्ने प्रक्रिया मात्र होइन, लोकतन्त्रको आधार स्तम्भ हो। यसलाई विश्वसनीय बनाउन सूचना प्रवाहको शुद्धता अनिवार्य छ,” भण्डारीले भन्नुभयो।
निर्वाचन र सञ्चारबीच सहकार्य आवश्यक
कार्यक्रममा बोल्दै उहाँले निर्वाचनसम्बन्धी कानुन, आचारसंहिता र प्रक्रियाबारे स्पष्ट बुझाइ अभाव हुँदा भ्रम सिर्जना हुन सक्ने बताउनुभयो। त्यसैले मुख्य प्रशिक्षकमार्फत देशभर सञ्चारकर्मी तथा सरोकारवालालाई समयमै सही जानकारी पु¥याउने उद्देश्यले तालिम आयोजना गरिएको जानकारी दिनुभयो।
उहाँले सामाजिक सञ्जालको तीव्र प्रयोगका कारण गलत सूचना (मिसइन्फर्मेसन) र दुष्प्रचार (डिसइन्फर्मेसन) को चुनौती बढ्दै गएको उल्लेख गर्दै तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो। “प्रविधिको विकाससँगै चुनौती पनि थपिएका छन्। त्यसैले जिम्मेवार पत्रकारिता आजको आवश्यकता हो,” उहाँको भनाइ थियो।
आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा जोड
कार्यक्रममा निर्वाचन आचारसंहिता प्रभावकारी कार्यान्वयनका लागि सञ्चार क्षेत्रको सहयोग अपरिहार्य रहेको धारणा राखिएको थियो। निर्वाचन अवधिमा राजनीतिक दल, उम्मेदवार तथा सञ्चारमाध्यम सबैले आचारसंहिताको पालना गर्नुपर्नेमा जोड दिइयो।
निर्वाचन आयोगका पदाधिकारी तथा विज्ञहरूले प्रशिक्षणमा निर्वाचनको कानुनी ढाँचा, आमसञ्चारको भूमिका, सामाजिक सञ्जालको व्यवस्थापन, तथ्य परीक्षण (फ्याक्ट–चेक) तथा संकट व्यवस्थापनका विषयमा प्रस्तुति दिने कार्यक्रम रहेको छ। मुख्य प्रशिक्षकहरूले प्रदेश तथा जिल्लास्तरमा समेत यस्तै प्रकृतिका प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नेछन्।
लोकतन्त्र सुदृढीकरणमा सञ्चारको योगदान
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले लोकतान्त्रिक प्रणाली सुदृढीकरणमा सञ्चार माध्यमको भूमिका ऐतिहासिक रहेको उल्लेख गर्दै आगामी निर्वाचनलाई उदाहरणीय बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले मतदातालाई स्वतन्त्र र निर्भय वातावरणमा मतदान गर्न सक्षम बनाउन आयोग प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।
कार्यक्रममा आयोगका पदाधिकारी, सञ्चारकर्मी, विज्ञ तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको छ।
प्रशिक्षण कार्यक्रम केही दिनसम्म सञ्चालन हुने जनाइएको छ।
#प्रतिनिधि_सभा_सदस्य_निर्वाचन #electioncommissionnepal