एल्डरशट/लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले एनआरएनए आईसीसीभित्र देखिएको भ्रष्टाचार तथा ४ मे २०२५ मा महेश श्रेष्ठसंग भएको सहमतिका विषयमा केन्द्रित विशेष बहस कार्यक्रम आयोजना गर्ने भएको छ ।
कार्यक्रम १ फेब्रुअरी २०२६, आइतबार दिउँसो २ बजे एल्डरशटस्थित ठमेल रेस्टुरेन्टमा आयोजना हुनेछ। कार्यक्रमको समन्वय एनआरएनए यूकेका पूर्व अध्यक्ष योगेन क्षेत्रीले गर्नुहुनेछ ।
बहस कार्यक्रममा एनआरएनए आईसीसीका उपाध्यक्ष विश्वदीप तिगेला, सल्लाहकार थर्का सेन, एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगर, उपाध्यक्ष तीर्थ बहादुर मल्ल (अनिल) तथा महासचिव जुरेन्द्र खजुम लिम्बु प्यानलिस्टका रुपमा सहभागी हुनेछन् ।
एनआरएनए यूकेले यस कार्यक्रममार्फत संगठनभित्र उठिरहेका गम्भीर प्रश्नहरुमा खुला र तथ्यपरक छलफल गर्दै पारदर्शी निर्णय प्रक्रिया र संस्थागत जवाफदेहितालाई मजबुत बनाउने लक्ष्य लिएको जनाएको छ ।
एनआरएनए यूकेले एनआरएनए आईसीसीभित्र भइरहेको भनिएको ठूलो आर्थिक अपचलन, एकता महाधिवेशनको पूर्वसन्ध्यामा भएको पाँच बुँदे सहमति कार्यान्वयन नहुनु, वंशजको नेपाली नागरिकता निरन्तरताको विषय, साथै विश्वभर रहेका गैरआवासीय नेपालीहरुको सदस्यता सम्बन्धी मुद्दामा देखिएको मौनताप्रति गम्भीर आपत्ति जनाउँदै आएको छ ।
यसअघि १८ जनवरीमा एल्डरशटमै एनआरएनए यूके अध्यक्ष तथा भ्रष्टाचारविरुद्ध सक्रिय सामाजिक अभियन्ता प्रेम गाहा मगरको अध्यक्षतामा नेपालको समसामयिक राजनीतिक अवस्थाबारे जानकारीसभा तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरिएको थियो। उक्त कार्यक्रमको निरन्तरता र थप गहिरो तथा स्पष्ट छलफलको आवश्यकता महसुस गर्दै यो विशेष बहस कार्यक्रम आयोजना गर्न लागिएको कुरा एनआरएनए यूकेका प्रवक्ता डा. कुल प्रसाद कंडेलले जानकारी दिएका छन् ।