आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा आज पेश गरिदै


ईकोनोमिक खबर, काठमाडौं । जेठ १५ गत,े बुधबार आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा पेश गरिदै छ । अर्थमन्त्री डा युवराज खतिवडाद्वारा आर्थिक वर्ष २०७६\७७ को अनुमानित आय–व्ययको विवरण अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रिसभाको संयुक्त बैठकमा पेस गर्ने छन् ।

नेपालको संविधानमा हरेक वर्षको जेठ १५ गते अर्थात गणतन्त्र दिवसको दिन बजेट प्रस्तुत गर्ने व्यवस्था रहेको छ । नेपाल कम्युनिस्ट पार्र्टीे (नेकपा) नेतृत्वको सरकारले दोस्रो पटक बजेट प्रस्तुत गर्न लागेको हो ।
यस वर्षको बजेटमा भौतिक पूर्वाधार, ऊर्जा, पर्यटन, कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको बताइएको छ । करीब १५ खर्ब बराबरको बजेट ल्याउन राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयलाई सीमा तोकेको थियो ।

आर्थिक समृद्धिलाई केन्द्रमा राखेर अगाडि बढेको सरकारले बजेटमा केही नयाँ र आकर्षक कार्यक्रमसमेत राखेको बुझिएको छ । सरकारले चालू आर्थिक वर्षमा सात प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेकोे छ । आगामी आर्थिक वर्षको बजेटलाई बढी व्यवहारिक र कार्यान्वयनमुखी बनाउने लक्ष्य राखिएको छ ।

चालू आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख बराबरको बजेट प्रस्तुत गरिएको थियो । कूल विनियोजनमध्ये चालूतर्फ आठ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख, पूँजीगततर्फ तीन खर्ब १३ अर्ब ९९ करोड ८२ लाख र वित्तीय व्यवस्थातर्फ एक खर्ब ५५ अर्ब ७१ करोड ७० लाख रुपैयाँ विनियोजन गरिएको थियो ।