सल्यानकोट–बेसीसम्म त्रिपुरासुन्दरी भगवतीको वार्षिक जात्रा सम्पन्न


त्रिपुरासुन्दरीको उत्पत्ति हिन्दू ग्रन्थहरूमा वर्णित शक्तिपीठ कथासँग जोडिएको छ। किंवदन्ती अनुसार, सतीदेवीको कण्ड्याउलो पतन भएको स्थान ‘उद्यान’मा त्रिपुरासुन्दरी उत्पत्ति भएकी मानिन्छिन्। स्थानीय लोककथामा भनिएजस्तै, वर्तमान पुजारी परिवारका पुर्खालाई देवीले सपनामा आफू रहेको स्थान देखाइदिएपछि मात्र यो मन्दिरको स्थापना भएको हो।

यस जात्राको ऐतिहासिक महत्व पनि अपार छ। नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाह नुवाकोट विजयको तयारी गर्दै सल्यानकोट पुगेका थिए। मान्यता छ, यहाँ उनलाई देवीले सपनामा बालिकाको रूपमा आई दुई हातले खड्ग प्रदान गरेकी थिइन्। यही ‘देवीको खड्ग’ उनको नुवाकोट र त्यसपछिको विजययात्राको लागि शुभ संकेत बनेको इतिहास छ।

धर्म र अध्यात्मको दृष्टिले हेर्दा, यस्ता पवित्र स्थलहरूमा पुग्दा मानिसमा सकारात्मक सोच, आत्मविश्वास र सामूहिक उर्जाको संचार हुने विश्वास गरिन्छ। त्रिपुरासुन्दरीको आराधना केवल विधि वा संस्कार मात्र होइन, एक सामूहिक विश्वास र आत्मिक शक्तिको स्रोत हो।

सल्यानकोटबाट सुरु भएको यो भक्तियात्रा बेसी पुग्दा बीसौँ हजारभन्दा बढी भक्तजनको सहभागीतामा विशाल जात्रामा परिणत भएको थियो। सोमबार बेसीमा न्वागी खाएपछि जात्रा सकिएको छ। गाउँपालिका अध्यक्ष राजु उप्रेतीले जात्रा सफलतापूर्वक सम्पन्न भएकोमा स्थानीय बासिन्दा, भक्तजन र प्रशासनलाई धन्यवाद दिंदै भने, “सदियौंदेखि चलिँदै आएको यो पवित्र परम्पराले हाम्रो इतिहास, संस्कृति र सामूहिक अस्मितालाई जोगाउँदै आएको छ।