काठमाडौं । चितवनको पर्यटकीय स्थल सौराहामा कर्पोरेट खेलकुद प्रतियोगिता ‘जंगल सफारी क्रिकेट– २०२६’ आयोजना हुने भएको छ ।
इभेन्ट्स दरबार प्रा.लि.ले आगामी फेब्रुअरी २० देखि २२ सम्म सौराहाको ल्याण्डमार्क होटल्स एण्ड रिसोट्र्समा यो प्रतियोगिता आयोजना गर्ने जनाइएको छ ।
सन् २०१९ देखि ‘जंगल क्रिकेट’ को नामबाट सुरु भएको यो प्रतियोगिता यस पटक ‘जंगल सफारी क्रिकेट’ को नयाँ स्वरूपमा सञ्चालन हुन लागेको हो । यसले खेलकुदसँगै कर्पोरेट नेटवर्किङ, मनोरञ्जन र पर्यटनलाई एकैसाथ जोड्ने लक्ष्य राखेको छ ।
२ रात ३ दिनको यो प्याकेजमा सहभागीहरूले क्रिकेट मात्र नभई ‘जंगल फील’ थिममा टिम बिल्डिङ र आरामको अवसर पाउने छन् । यसैगरी प्रतियोगितामा बैंक, वित्तीय संस्था, आईएनजीओ र कूटनीतिक नियोगका टिमहरू सहभागी हुन सक्ने छन् भने महिला खेलाडीहरूको सहभागितालाई विशेष प्रोत्साहन गरिएको छ ।
खेलको समापनसँगै भव्य गाला नाइट आयोजना हुनेछ । कार्यक्रमलाई भव्य बनाउन भत्स फोटो ग्यालेरी (सेल्फी बुथ), ग्ल्याम दरबार (मनोरञ्जन) रे एपेक्स (मार्केटिङ), डिजिटल कार्यालय र सवारी बुकिङलगायतका संस्थाहरूले सहकार्य गरेका छन् ।
विगतका संस्करणहरूमा कर्पोरेट क्षेत्रबाट पाएको सकारात्मक प्रतिक्रिया र प्रायोजकहरूले प्राप्त गरेको ‘ब्रान्ड माइलेज’ का कारण यस पटकको संस्करण अझै परिष्कृत हुने आयोजक इभेन्ट्स दरबारले जनाएको छ ।
सहभागिताका लागि सिटहरू सीमित भएकाले ‘पहिले आउनेलाई प्राथमिकता’ दिइने आयोजकले बताएका छन् । थप जानकारीका लागि आयोजक संस्था इभेन्ट्स दरबार प्रा.लि. मा सम्पर्क गर्न सकिने छ ।