पूर्वी नेपाल भ्रमण सकेर बालेन काठमाडौँ फर्किए, पर्यटन–कृषि–पूर्वाधारलाई प्राथमिकता दिन आग्रह


काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पूर्वी नेपालका विभिन्न जिल्लाको भ्रमण पूरा गरी काठमाडौँ फर्किएका छन्। उनले साविकको मेची अञ्चलका तीन जिल्ला र कोशी अञ्चलका तीन जिल्लामा पार्टी गतिविधि तथा भेटघाट गरेका हुन्।

बालेनले माघ ६ गते झापा निर्वाचन क्षेत्र नम्बर–५ बाट उम्मेदवारी दर्ता गराएका थिए। त्यसको भोलिपल्ट माघ ७ गते काठमाडौँस्थित डेरामा आएका शुभेच्छुकहरूसँग दिनभर छलफल गरेका उनी माघ ८ गते बिहान इलाम प्रस्थान गरेका थिए।

इलाममा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार तथा स्थानीय नागरिकसँग छलफल गरेपछि उनले सोही दिन पाँचथर र ताप्लेजुङका समर्थक तथा शुभचिन्तकसँग भेटघाट गरेका थिए। शुक्रबार बिहान पाथिभराको दर्शनपछि बालेन तेह्रथुम हुँदै म्याग्लुङ बजार पुगेका थिए। मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने विभिन्न बजारहरूमा उनले स्थानीयहरूसँग संवाद गरेको बालेनको सचिवालयले जनाएको छ।

शनिबार बिहान म्याग्लुङमा पार्टीका उम्मेदवार तथा शुभचिन्तकसँग संक्षिप्त भेटघाटपछि उनी संखुवासभाको चैनपुर पुगेका थिए। चैनपुरमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार मिङ्मा शेर्पासहित पार्टीका पदाधिकारी तथा स्थानीय नागरिकसँग छलफल गर्दै बालेनले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका थिए।

उनले पूर्वी नेपाल पर्यटकीय दृष्टिले अत्यन्त सम्भावनायुक्त क्षेत्र भएको उल्लेख गर्दै निर्वाचित जनप्रतिनिधिले पर्यटन, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्नुपर्ने बताए।

फर्किने क्रममा बालेनले धनकुटामा समेत सामान्य भेटघाट गरेका थिए। इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा र धनकुटा हुँदै भ्रमण सम्पन्न गरी उनी शनिबार साँझ विराटनगर विमानस्थलबाट एती एयरलाइन्सको उडानमार्फत काठमाडौँ फर्किएका हुन्।