ललितपुर। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेनजी आन्दोलनका सहिद परिवारका लागि रोजगारी सुनिश्चित गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु भइसकेको जानकारी दिनुभएको छ । उहाँका अनुसार नेपाल विद्युत् प्राधिकरणसँग आवश्यक छलफल सम्पन्न भई प्राधिकरणको बोर्डबाट समेत स्वीकृति प्राप्त भइसकेको छ ।
युनाइटेड नेप्लिज एसोसिएसन टेक्सास (युएसए), युनाइटेड नेपाली ड्यासपोरा (युएसए) र एमआइटी ग्रुप फाउन्डेसन अस्ट्रेलियाको संयुक्त आयोजनामा आज ललितपुरमा आयोजित ‘जेनजी सुशासन योद्धा’ विषयक सहिद परिवारसँगको संवाद तथा भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले हाल निवेदन दिएका २७ जनाका लागि तत्काल रोजगारीको व्यवस्था गरिएको स्पष्ट गर्नुभयो ।
अध्यक्ष घिसिङका अनुसार, “हाललाई निवेदन दिएका २७ जना नेपाल विद्युत् प्राधिकरणमा गएर काम गर्न सक्नुहुन्छ । बाँकी सहिद परिवारका सदस्यका लागि पनि चरणबद्ध रूपमा थप व्यवस्था गर्दै जानेछौँ । यस विषयमा सम्बन्धित मन्त्रालय, प्राधिकरण तथा अन्य सरोकारवाला निकायसँग निरन्तर समन्वय र सहकार्य हुनेछ ।”
उहाँले जेनजी आन्दोलनले उठाएका सुशासन, पारदर्शिता र जवाफदेहिताका मागहरू अझै सम्बोधन हुन नसकेको उल्लेख गर्दै, जनचाहनाविपरीत जाने तथा मुलुकको हित नबुझ्ने शक्तिलाई लोकतान्त्रिक रूपमा विस्थापित गर्दै मात्रै सहिदका सपना पूरा गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।
पूर्वमन्त्रीसमेत रहनुभएका अध्यक्ष घिसिङले सहिद परिवारको पीडा र भावना आफूहरूले गहिरो रूपमा बुझेको उल्लेख गर्दै, राजनीतिक प्रतिबद्धता केवल भाषणमा सीमित नहुने स्पष्ट पार्नुभयो । “हामी बोल्नेभन्दा पनि काम गरेर देखाउने पक्षमा छौँ । सहिद पार्क र सालिक निर्माणका विषयमा म सरकारमा रहँदा सकारात्मक छलफलपछि प्रारम्भिक तयारी थालिएको थियो,” उहाँले भन्नुभयो ।
उहाँले उज्यालो नेपाल पार्टी संसद्मा पुगेपछि सहिद, घाइते तथा उनीहरूका परिवारका मागलाई नीतिगत रूपमा सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै भन्नुभयो, “सहिद परिवारका भावना राज्यले सम्मानपूर्वक सुन्नु र सम्बोधन गर्नु अनिवार्य छ । संसद्मा पुगेर यी विषयलाई प्राथमिकताका साथ उठाइनेछ ।”
अध्यक्ष घिसिङले राज्यको जवाफदेहिता सुनिश्चित गर्न आफू सहिद तथा घाइते परिवारसँग पटक–पटक छलफलमा संलग्न हुँदै आएको उल्लेख गर्नुभयो । उहाँका अनुसार सहिदको सम्मान, राहत र दीर्घकालीन व्यवस्थापनका विषयमा मन्त्रिपरिषद् बैठकमा समेत पटक–पटक छलफल भएको थियो । आगामी फागुन २१ गते हुने निर्वाचनपछि गठन हुने नयाँ संसद् र सरकारले सहिद, घाइते तथा उनीहरूका परिवारका विषयमा ठोस निर्णय लिने उहाँको विश्वास छ ।
कार्यक्रममा सहिद धिरज श्रेष्ठका पिता नारायण श्रेष्ठले सहिद परिवारलाई एकताबद्ध बनाएर कल्याणकारी तथा अधिकारमुखी अभियानमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले सहिदको बलिदानलाई केवल स्मरणमा सीमित नगरी व्यवहारिक रूपमा सम्मान गर्न राज्य र राजनीतिक दलहरू गम्भीर हुनुपर्ने बताउनुभयो ।
कार्यक्रम संयोजक तथा युनाइटेड नेप्लिज एसोसिएसनका संस्थापक पासाङ लामाले नेपाल र नेपालीप्रतिको दायित्व पूरा गर्ने उद्देश्यले ११ वर्षअघि संस्था स्थापना गरिएको जानकारी दिँदै, देशमा आपत्कालीन अवस्था, प्राकृतिक विपद् वा सामाजिक संकट आइपर्दा संस्थामार्फत सहयोग गर्न सधैँ तत्पर रहेको बताउनुभयो ।
युनाइटेड नेप्लिज एसोसिएसन नेपाल च्याप्टरका अध्यक्ष दोर्जे शेर्पाले सहिद परिवारसँग निरन्तर संवादबिना विश्वास र समझदारी सम्भव नहुने उल्लेख गर्नुभयो । उहाँले जेनजी सहिदले देखाएको सपना साकार पार्न सुशासन, न्याय र समावेशी विकाससहितको समृद्ध नेपाल निर्माणका लागि साझा प्रतिबद्धताका साथ सबै पक्ष लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।


