काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र सुदन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा औपचारिक रूपमा प्रवेश गर्ने घोषणा गरेका छन्।
सुदन गुरुङले जारी गरेको वक्तव्यमा उक्त निर्णय पद,शक्ति वा व्यक्तिगत स्वार्थका लागि नभई जनताको अपेक्षा र जिम्मेवारीप्रतिको प्रतिबद्धताबाट आएको उल्लेख गरेका छन्। उनका अनुसार, जनताले माग गर्दै आएको जवाफदेहिता, स्पष्ट दिशा र नतिजामूलक कामलाई अब संस्थागत रूपमा अघि बढाउने समय आएको छ।
वक्तव्यमा जनहितलाई पहिलो प्राथमिकतामा राखिने, युवाको विश्वास सुरक्षित गरिने र परिवर्तनलाई दीर्घकालीन तथा स्थायी बनाइने प्रतिबद्धता व्यक्त गरिएको छ। “यो यात्रा तपाईंहरूसँगै अघि बढ्छ,” वक्तव्यमा भनिएको छ।
हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी वा बालेन शाहको तर्फबाट यस विषयमा औपचारिक पुष्टि सार्वजनिक रूपमा आएको छैन। घटनाबारे थप विवरण र औपचारिक कार्यक्रममा आधारित जानकारी प्राप्त हुन बाँकी रहेको छ।