काठमाडौं। विगत ६ वर्षसम्म गीत / संगीतमै भविष्य खोजेका गायक तथा सर्जक सन्तोष खत्रीले अन्ततः त्यो सपना अधुरै छाड्दै संगीत यात्राबाट बिदा लिने निर्णय गरेका छन्।
२० वटा भन्दा बढी गीत सिर्जना गर्दा पनि अपेक्षित सफलता नपाएपछि खत्रीले हार स्वीकार्दै अब संगीतबाट टाढा हुने घोषणा गरेका हुन् ।
सानै उमेरदेखि गीतप्रति गहिरो प्रेम राख्ने खत्री अरूको स्वर सुन्दा सधैं सोच्थे-‘एकदिन म पनि यस्तै गीत गाउने छु।’ त्यहीँ सपनाले खत्रीलाई गीत लेख्न सिकायो, स्वरमा आत्मा हाल्न सिकायो र अन्ततः संगीतको बाटोमा लाग्यो।
खत्रीको औपचारिक यात्रा ‘दिनमै नशा’ बोलको गीतबाट शुरु भयो । पहिलो गीत सार्वजनिक हुँदा खत्रीलाई लागेको थियो- अब उनको समय शुरु हुँदै छ, तर समयले खत्रीलाई चाहेजस्तो अवसर दिएन।
न ठूलो लगानी, न चर्चित अनुहारको साथ, थियो त केवल परिवारको हौसला र आफ्नै भरोसा ।
त्यहीँ भरोसामा खत्रीले गाएका गितहरु:
- ‘१५ हजार’,
- ‘अब क्यार्नी हो’,
- ‘मायालुका यादैले’,
- ‘ए आमा’,
- ‘दुई मुठी सास’,
- ‘म दुःखी प्रदेशी’,
- ‘मुना मदन जस्तै’,
- ‘पैसा’,
- ‘हाम्रो कालापानी’ लगायत २० वटा भन्दा बढी गीत श्रोताहरुमाझ ल्याए, तर आज उनी आफैँ स्वीकार्छन्- उनका गीतहरूले दर्शक तथा श्रोताहरुको मन जित्न सकेनन्।
‘मिहिनेत कम गरेको होइन’, खत्रीले भन्छन्,‘तर सफल कलाकार बन्न सकिनँ । सायद भाग्यले मेरो स्वर सुन्न चाहेन।’
खत्रीका अनुसार यो निर्णय क्रोधको होइन, थकानको परिणाम हो । खत्रीले भने,‘म धेरै लडेँ, अब थाकिसकेको छु । हार मानेर होइन, शान्त भएर बिदा लिन चाहन्छु, तर संगीतसँगको सम्बन्ध अझै एकपटक बोल्ने छ।’
संगीतबाट पूर्ण रूपमा टाढा हुनु अघि खत्रीले एउटा अन्तिम भजन सार्वजनिक गर्ने बताएका छन् ।
खत्रीका अनुसार त्यो भजन खत्रीको ६ वर्षे संघर्षको अन्तिम आवाज हुने छ । आज खत्रीको स्वर मौन हुँदै छ, तर कथाले अझै बोलिरहने छ । एक कलाकारको यात्रा यहाँ टुंगिन्छ, तर उसको अधुरो सपना धेरै संघर्षरत कलाकारहरूको आँखामा आफ्नै कथा बनेर बाँचिरहने छ।
