ओप्स खेलकुद महोत्सव बिहीबारदेखि


काठमाडौं। अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) को आयोजनामा आठौं ओप्स खेलकुद महोत्सवको दोश्रो चरण बिहीबारदेखि हुने भएको छ।

दोश्रो चरणमा विभिन्न ४ खेलमा प्रतिस्पर्धा हुने ओप्सका अध्यक्ष लोकेन्द्रबहादुर खड्काले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

सिनियर फुटसल, भलिबल, एथलेटिक्स र ब्याडमिन्टनमा प्रतिस्पर्धा हुनेछ । भलिबलमा छात्रमा प्रतिस्पर्धा हुनेछ भने बाँकीमा छात्र÷छात्राको सहभागिता रहनेछ।

१२ टिमको सहभागिता रहने छात्रा फुटसल सृजना ज्ञानसागर माविमा खेलाइनेछ । छात्र फुटसल र छात्र भलिबल सेक्रेड हार्ट माविमा हुनेछ । छात्र फुटसलमा १६ र छात्र भलिबल ८ टिमले खेल्नेछन्। एथलेटिक्स हल्चोकस्थित एपीएफमा हुनेछ। एथलेटिक्समा छात्र/छात्रतर्फ समान ९–९ गरी १८ स्पर्धा समावेश छन् । ब्याडमिन्टनमा ६० खेलाडीले भाग लिनेछन्।

खेलकुद महोत्सवअन्तर्गत पहिलो चरणमा टेबलटेनिस, बास्केटबल, जुनियर फुटसल र बुद्धिचालको प्रतिस्पर्धा भएको ओप्सले जनाएको छ।

पहिलो चरणमा करिब सात सय प्रतिस्पर्धी सहभागी भएको अध्यक्ष खड्काले बताए ।

प्रतियोगिता संयोजक एवं ओप्सका इसीए विभाग प्रमुख राजेश रायमाझीले विद्यालयबीच सहकार्य, आपसी विश्वास र संगठनात्मक एकतालाई अझ सुदृढ बनाउन विभिन्न सदस्य विद्यालयहरुलाई समूहगत खेलकुद समन्वयको जिम्मेवारी प्रदान गरिएको बताए।

अध्यक्ष खड्काले विद्यार्थीको चौतर्फी विकासका लागि ओप्सले शिक्षासंगै खेलकुद र अन्य विभिन्न अत्तिरिक्त क्रियाकलापमा विशेष ध्यान दिएको बताए।

ओप्सका सचिव शिवप्रसाद अर्यालले यसै खेलकुद महोत्सवमा सहभागी विद्यालयका खेलाडीले विभिन्न खेलमा राष्ट्रको प्रतिनिधित्व गरिसकेको बताए।

महोत्सव पुस २७ गतेसम्म चल्नेछ।