एमटीएम एण्ड एलएलटीएम २०२६ : भारतको माइस र वेडिङ बजारमा बोर्डको प्रभावकारी प्रस्तुती


नयाँ दिल्ली। भारतलाई प्रमुख स्रोत बजारका रूपमा केन्द्रमा राख्दै नेपाल पर्यटन बोर्डले भारतका ट्राभल, कर्पोरेट तथा माइस (मिटिङ, इन्सेन्टिभस्, कन्फरेन्स र इक्जिवेसन) क्षेत्रका प्रमुख तथा प्रतिनिधिसँग प्रत्यक्ष संवाद विस्तार गरेको छ । पुलम्यान नयाँ दिल्ली एरोसिटीमा जनवरी ८–९ मा सम्पन्न एमटीएम र एलएलटीएम २०२६ मा फोकस पार्टनरको रूपमा सहभागिता जनाउँदै बोर्डले नेपालको कर्पोरेट, इन्सेन्टिभ, सम्मेलन तथा वेडिङ पर्यटन सम्भावनाबारे प्रभावकारी प्रस्तुती गरेको हो।

जनवरी ९ मा सम्पन्न कार्यक्रमले निर्णय–केन्द्रित र लक्षित नेटवर्किङ प्लेटफर्मको रूपमा आफ्नो प्रभाव पुनः पुष्टि गरेको आयोजकले जनाएका छन् ।

कार्यक्रममा छानिएका कर्पोरेट बायर, विश्वसनीय ब्रान्ड तथा वरिष्ठ नेतृत्वको सहभागिता रहेको थियो, जहाँ उद्देश्यपूर्ण संवाद र भविष्यकेन्द्रित छलफलमार्फत पर्यटन तथा माइस क्षेत्रका बदलिँदा प्राथमिकतामाथि चर्चा गरिएको थियो ।

कार्यक्रमको प्रमुख विशेषता ‘रिभर्स मार्केटप्लेस’ अवधारणा अन्तर्गत बायर र सेलरबीच वन–अन–वन भेटघाट भएका थिए । यस प्लेटफर्ममार्फत नेपाल पर्यटन बोर्डले भारतीय कर्पोरेट र माइस निर्णयकर्तासँग प्रत्यक्ष सम्पर्क स्थापित गर्दै व्यापारिक सम्बन्ध विस्तार र गन्तव्यप्रति विश्वास अभिवृद्धि गरेको जनाएको छ ।

नेपाल पर्यटन बोर्डले गरेको गन्तव्य प्रस्तुतीकरणले भारतलाई केन्द्रमा राख्दै नेपाललाई इन्सेन्टिभ ट्राभल, कन्फरेन्स, एक्सपेरिएन्सियल ट्राभल तथा उत्सव–केन्द्रित यात्राका लागि आकर्षक गन्तव्यका रूपमा प्रवर्द्धन गर्‍यो । भारत नेपालका लागि प्रमुख पर्यटक स्रोत बजार भएकाले यस्तो रणनीतिक सहभागिताले दीर्घकालीन पर्यटन वृद्धिमा टेवा पुग्ने बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको विश्वास छ ।

कार्यक्रमको दोस्रो दिन आयोजित ‘एमटीएम स्टार अवार्ड्स फर वेडिङ प्लानर्स’ ले भारतको वेडिङ तथा सेलिब्रेशन इकोनोमीमा उत्कृष्ट योजना र कार्यान्वयन गर्ने संस्थालाई सम्मान गरेको थियो । यस अवसरमा नेपालले वेडिङ र डेस्टिनेशन सेलिब्रेशन पर्यटनमा आफ्नो बलियो उपस्थितिसहित भविष्यमा यस क्षेत्र विस्तार गर्ने आशा व्यक्त गरेको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार एमटीएम र एलएलटीएम २०२६ जस्ता लक्षित अन्तर्राष्ट्रिय प्लेटफर्ममार्फत भारतसँगको पर्यटन सहकार्य अझ सुदृढ हुँदै जाने र नेपाललाई कर्पोरेट, माइस तथा वेडिङ पर्यटनको उदीयमान गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुग्ने बोर्डले जनाएको छ ।