नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार सन् २०२५ को जनवरीदेखि नोभेम्बरसम्म (२०८१ पुस १७ देखि २०८२ मंसिर १४ गतेसम्म) को अवधिमा १० लाख ६० हजार २६९ जना विदेशी पर्यटक नेपाल भित्रिएका हुन्।
पर्यटन बोर्डका प्रवक्ता सुनिल शर्माका अनुसार यो अवधिमा विभिन्न १० देशबाट उल्लेख्य संख्यामा पर्यटक आएका छन्।
कुन देशबाट कति ?
नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै छिमेकी मुलुक भारतका नागरिक छन्। भारतबाट २ लाख ६२ हजार ३४५ जना पर्यटक नेपाल आएका छन्।
- अमेरिकाबाट १ लाख ५ हजार २३९,
- चीनबाट ८६ हजार ८००,
- बेलायत (युके) बाट ५४ हजार ४५०, बंगलादेशबाट ५० हजार ९४० जना,
- अस्ट्रेलियाबाट ४४ हजार ३७७,
- श्रीलंकाबाट ३६ हजार ९६८,
- जर्मनीबाट २८ हजार ९७५,
थाइल्यान्डबाट २५ हजार ८२४ जना पर्यटक नेपाल भित्रिएका छन्।
तथ्यांकमा उल्लेख गरिएका प्रमुख १० देशमध्ये सबैभन्दा कम फ्रान्सबाट २३ हजार ५०२ जना पर्यटक आएको देखिन्छ।
पर्यटन आगमनको यो तथ्यांक अघिल्लो वर्षको सोही अवधिको तुलनामा ०.४ प्रतिशतले बढी हो। सन् २०२४ को ११ महिनामा १० लाख ५५ हजार ५२० जना पर्यटक आएका थिए।
मासिक तुलना गर्दा, सन् २०२५ को नोभेम्बर महिनामा मात्रै १ लाख १६ हजार ५५३ जना पर्यटक नेपाल आएका छन्। जुन सन् २०२४ को नोभेम्बर (१ लाख १४ हजार ४९६) को तुलनामा १.८ प्रतिशतले बढी हो।
बोर्डका प्रवक्ता शर्माले विभिन्न देशमा आयोजित पर्यटन मेलामा नेपालको सहभागिता र प्रवर्द्धनात्मक कार्यक्रमले पर्यटक आगमनमा वृद्धि भएको बताए।
उनले भने, ‘जेनजी आन्दोलनका कारण आगमनमा केही असर परेको भएपनि हामीले नेपालका महत्त्वपूर्ण गन्तव्यहरूबारे सामाजिक सञ्जालमार्फत प्रचारप्रसारलाई तीव्रता दिएका छौं, जसले गर्दा संख्यामा वृद्धि भइरहेको छ।’
पर्यटन बोर्डले कूटनीतिक नियोगहरूसँगको समन्वय र डिजिटल मार्केटिङलाई प्राथमिकता दिएको छ।
आन्दोलन अगावै बोर्डले कूटनीतिक नियोगका प्रतिनिधिलाई पर्यटकीय स्थलको अवलोकन गराउनुका साथै प्रवर्द्धनबारे छलफल गरेको शर्माले जानकारी दिए।