पर्वतीय महोत्सवमा एफएओ नेपाल, पर्वतारोहण संघ र अन्तर्राष्ट्रिय संग्रहालयबीच सहकार्य


काठमाडौं। १०औँ पर्वतीय महोत्सवको अवसरमा संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) नेपालले नेपाल पर्वतारोहण संघ तथा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयसँगको सहकार्यलाई थप सुदृढ बनाउँदै पर्वतीय खाद्य प्रणाली र दिगो विकासप्रतिको आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ।

महोत्सवकै क्रममा आयोजित ‘हिमाली क्षेत्रमा पानी, खाद्य तथा जीविकोपार्जनका लागि हिमनदीहरूको महत्व’ शीर्षकको प्यानल छलफलमा एफएओ नेपालको सक्रिय सहभागिता रहेको थियो। छलफलका क्रममा घट्दो हिमनदीको अवस्था, त्यसले हिमाली क्षेत्रमा पार्ने प्रभाव तथा जोखिम न्यूनीकरणका लागि एफएओले गर्दै आएका पहल र कार्यक्रमबारे विस्तृत चर्चा गरिएको थियो।

एफएओले हिमाली तथा पर्वतीय क्षेत्रमा जलस्रोत संरक्षण, जलवायु परिवर्तन अनुकूलन, दिगो खाद्य प्रणाली प्रवर्द्धन तथा स्थानीय समुदायको जीविकोपार्जन सुदृढीकरणका लागि विभिन्न परियोजना तथा साझेदारीमार्फत काम गर्दै आएको जनाएको छ।

कार्यक्रमले हिमाली क्षेत्रको दिगो विकासका लागि बहुपक्षीय सहकार्य, नीति संवाद र वैज्ञानिक आधारमा कार्यक्रम अघि बढाउन आवश्यक रहेको सन्देश दिएको आयोजकहरूले बताएका छन्।