सुमनराज अर्याल बने २९ औं मुख्यसचिव


काठमाडौं-सरकारले रक्षा सचिव सुमनराज अर्याललाई मुख्यसचिव बनाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले रक्षा सचिव अर्याललाई मुख्यसचिव बनाउने निर्णय गरेको हो। मन्त्रिपरिषद्बाट निर्णय भएपछि सुमन २९ औं मुख्यसचिव बनेका छन्। सुमनलाई मुख्यसचिवमा बढुवा गरेको एक मन्त्रीले जानकारी दिए।

प्रशासन सेवा तथ्याङ्क समूहका अर्याललाई सरकारले २९ औं मुख्यसचिवको रूपमा प्रस्तुत गरेको हो। उनी खुला प्रतिस्पर्धाबाट शाखा अधिकृत, आन्तरिक प्रतिस्पर्धाबाट उपसचिव र खुला प्रतिस्पर्धाबाट सहसचिव भएका थिए। सुमन २०५३ सालमा अधिकृत, २०६६ सालमा उपसचिव, २०६८ सालमा सहसचिव र २०७७ साल माघमा सचिव भएका हुन्।

मुख्यसचिवको प्रतिस्पर्धामा अर्यालसहित प्रमिलादेवी शाक्य बज्राचार्य, मधुसुधन बुर्लाकोटी, कृष्णहरि पुष्कर कर्ण, रामप्रसाद घिमिरेलगायत रहेका थिए। प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको ‘जेन-जी’ सरकारले सरकारले वरिष्ठता र कार्यकुशलताका आधारमा सुमनलाई मुख्यसचिव बनाएको हो। सरकारले यसअघि प्रहरी महानिरीक्षकमा वरिष्ठताका आधारमामा दानबहादुर कार्कीलाई बढुवा गरेको थियो। सरकारले मुख्यसचिवमा पनि त्यहीँ नजिर स्थापित गरेको छ। अर्याल २०८३ असार २६ गतेसम्म मुख्यसचिवमा बहाल रहनेछन्।

२०७७ माघ १९ गते नेपाल प्रशासन सेवाको सचिव भएपछि कोशी प्रदेशको प्रमुख सचिव भएका अर्याल त्यसपछि महालेखा नियन्त्रक भएर काठमाडौं आएका थिए। उनी महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयको सचिव हुँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा पुगेका थिए। त्यसपछि राष्ट्रिय योजना आयोग हुँदै उनी रक्षा मन्त्रालय पुगेका हुन् अर्याल रक्षाबाट मुख्यसचिव बनेका हुन्।