निराज रानाभाट, तनहुँ । एकैचोटी दर्जनौं संख्यामा पञ्चेबाजा घन्काउँदै हजारौँ मानिसहरु नाचगान गरेको दृष्य अन्यत्र सायदै देखिएला । तनहुँको श्री थानीमाई मन्दिरमा भने यस्तो दृष्य कुनै नौलो होइन । कार्तिक महिनाबाट यस मन्दिरमा पञ्चेबाजासहित फूलको डोली लैजाने क्रम शुरू हुन्छ । कार्तिकको पहिलो, दोस्रो र तेस्रो हप्ता अत्याधिक भीड हुने गर्दछ । शुक्रअन्न परेको बेलामा भने त्यति डोली आउँदैनन् । थानीमाई मन्दिरमा साउन महिनाबाहेक हरेक महिनाको सोमबार भक्तजनहरुको अत्यधिक चहलपहल हुन्छ । सोमबार र मंगलबार औंसी वा एकादशी परेमा भने पूजा गरिदैन ।
श्री थानीमाई मन्दिरमा दर्शनका लागि तनहुँ, लमजुङ, गोरखा, धादिङ, चितवन, कास्कीलगायतका जिल्लाबाट धेरै भक्तजनहरू आउने गर्छन् । अनेकौ कष्टका बाबजुद पनि पैदल वा सवारीसाधानमा समेत टाढा – टाढाबाट भक्तजनहरू फूलको डोली लिएर आउने गर्दछन् । पछिल्ला वर्षहरूमा थानीमाई मन्दिर जाने नयाँ सडकसमेत खुलेका छन् । नयाँ सडक खुलेपछि भक्तजनहरूको संख्यामा थप वृद्धि भएको छ।
भक्तजनहरू फूलको डोली र पञ्चेबाजासहित थानीमाई मन्दिरको ३ पटक नाचगान गर्दै परिक्रमा गर्दछन् । परिक्रमापछि माथि थुम्कामा रहेको मन्दिर परिसरमा रहेका देवलहरूमा डोलीसँगै लगिएको तोरणलाई ३ फन्का घुमाएर बाँध्ने गरिन्छ । त्यसपछि मन्दिरभित्र प्रवेश गरी आफ्नो मनोकामना भाकल पूरा भएको भन्दै पूजाअर्चना गरिन्छ । बाजागाजा र ध्वजापताकासहित थानीमाईको जयजयकारले बसन्तपुर क्षेत्र गुञ्जायमान हुन्छ । सोमबार राति नै मन्दिरमा बत्ति बाल्ने भक्तजनहरूको भिड लागिसकेको हुन्छ । भत्तजनहरु भजन गाउँदै नाचगान गरी थानीमाईको काँखमा रात बिताउने गर्दछन् । विभिन्न आस्था र विश्वासको सेरोफेरोमा संरक्षित छ, थानीमाई ।
कार्तिकपछि माघ महिनामा भक्तजनहरूको भीड लाग्ने छ । श्री थानीमाई मन्दिरबाट गोरखाको लक्ष्मी बजार, लिगलिग कोट, पालुङ्टार, राइनसकोट, आँपपिपल, धमिलिकुवा, पश्चिमतर्फ माछापुच्छ्रे हिमाल, अन्नपूर्ण हिमशृंखला, उत्तरमा गणेश हिमाल लगायतका निकै सुन्दर हिमाली दृश्यहरु देख्न सकिन्छ । उच्च भाग भएको हुँदा यहाँबाट फाउदी खोला, आदिकवि भानुभक्तको जन्म स्थान भएर बग्ने चुँदी खोला, तनहुँको अग्लो चुचुरो छिम्केश्वरी, दोस्रो अग्लो चचुरो एवं पर्यटकीय क्षेत्र मिर्लुङकोट, तनहुँसुर दरवार र लम्जुङको राईनसकोटलगायत गगनचुम्बी पहाडहरू मज्जाले हेर्न सकिन्छ । थानीमाई मन्दिर वरपर ब्राम्हण, क्षत्री, मगर, नेवार, दमाई, कामी, सार्की, मुस्लीम, आदि धर्मालम्बीहरुको बाहुल्यता पाइन्छ । मुस्लिमहरुको मस्जिद पनि नजिकै रहेको छ । जातीय र धार्मिक सद्भाव तथा जातिय पहिचान र भेषभूषा साँस्कृतिक पहिचान यहाँका गहना हुन् । यो मन्दिर जातीय भेदबाटबाट मुक्त छ । मन्दिरमा ३ जना मगर जातका पूजारीहरू छन् । मन्दिर प्रवेशमा कुनै पनि जातजाति भएकै कारण रोक लगाइदैन ।
श्री थानीमाई मन्दिर कहाँबाट जाने ?
लमजुङको सदरमुकाम बेसीशहर जाने राजमार्गको बाइसजाँगरसम्म १८ किलोमिटर कालोपत्रे सडक र बाइसजाँगरबाट ८ किलोमिटर उत्तर – पश्चिमतर्फको कच्ची सडक पार गरेपछि थानीमाई मन्दिर पुग्न सकिन्छ । यो बाटो अहिलेको मुल चलनचल्तीको सडक हो । यसअघि हिडेर नै फूलको डोलीसहित थानीमाई दर्शनका लागि जानु पर्दथ्यो । यस्तै, डुम्रे – बेसीशहर सडकखण्डको अर्चलधारासम्म कालोपत्रे सडक र अर्चलधाराबाट लौडारी भज्याङ हुँदै करिव १६ किलोमिटरसम्मको कच्ची सडकबाट पनि थानीमाई मन्दिर पुग्न सकिन्छ । अझै छोटो सडकखण्ड डुम्रे – भन्सार हुँदै चुँदी – टुहुरेपसल र चन्द्रावतीबाट अलग – अलग कच्ची सडकबाट ६ किलोमिटर पार गरेपछि थानीमाई दर्शनका लागि जान सकिन्छ । त्यस्तै, डुम्रे – बेसीशहर सडकखण्ड अन्तर्गत पाँचसय डाँडा ( तुरतुरे बजार कटेपछि ) देखि महन्तेटियासम्म कालोपत्रे सडक र महन्तेटियाबाट रम्घाटार हुँदै थानीमाई मन्दिर कच्ची सडकबाट पनि पुग्न सकिन्छ । थानीमाई मन्दिर पुग्ने विभिन्न सडक कालोपत्रे गरेको खण्डमा यहाँ आउने पर्यटक र भक्तजनहरुको संख्या उल्लेख्य मात्रामा वृद्धि हुने देखिन्छ ।

