अन्तर्राष्ट्रिय श्रम सङ्गठनका निर्देशक नुमान ओज्कान र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालसँग शिष्टाचार भेटवार्ता


माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालसँग अन्तर्राष्ट्रिय श्रम सङ्गठनको नेपालस्थित कार्यालयका निर्देशक नुमान ओज्कानले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

भेटका अवसरमा निर्देशकले  मन्त्रीलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भयो। मा.मन्त्री र निर्देशकले नेपाल र अन्तर्राष्ट्रिय श्रम संगठनका वीचमा भएका सहकार्यको स्मरण गर्नुहुँदै हासिल भएका प्रगति उपर सन्तोष व्यक्त गर्नुभयो।

उक्त अवसरमा हालै केन्द्रीय श्रम सल्लाहकार परिषद्ब बाट स्वीकृत भएको अन्तर्राष्ट्रिय श्रम सङ्गठनका महासन्धी तथा प्रोटोकलहरुलाई अनुमोदन गर्ने सम्बन्धी कार्ययोजना, गन्तव्य मुलुकहरुसँगका द्विपक्षीय श्रम आप्रवासन सम्झौता, अन्तर्राष्ट्रिय श्रम संगठनमा गर्नुपर्ने नियमित र आवधिक प्रतिवेदन लगायतका विषयमा भएको प्रगति उपर छलफल भयो।

साथै, श्रम क्षेत्रको औपचारिकीकरणका लागि कार्यान्वयन भैरहेको औपचारिकीकरण सम्बन्धी कार्ययोजना, रोजगार सेवा केन्द्रहरुको सुदृढीकरण, वाध्यकारी श्रम तथा वालश्रममुक्त स्थानीयतह घोपणा सम्बन्धी विविध विषयमा छलफल गर्नुका साथै यी क्षेत्रमा दुई पक्षबीच सहकार्य गर्ने प्रतिवद्धता व्यक्त भयो।

आसन्न अन्तराष्ट्रिय श्रम सम्मेलनको ११२औ सत्रमा नेपालको सहभागितालाई सार्थक तुल्याउने विषयमा समेत छलफल भयो। सामाजिक न्यायका लागि विश्वव्यापी साझेदारी (Global Coalition for Social Justice) मा नेपालको सहभागिताको विषयमा निर्देशकज्यूले चासो व्यक्त गर्नुभएको थियो।

सरोकारवालाहरुको छलफल तथा अन्तरक्रियावाट सकारात्मक राय/सहमति प्राप्त भईसकेको सन्दर्भमा नेपाल सहभागी हुने सम्बन्धी आवश्यक प्रक्रिया शुरु भईसकेको जानकारी मन्त्रीज्यूले गराउनु भयो।

भेटका क्रममा गन्तव्य मुलुकमा नेपाली आप्रवासी श्रमिकहरुको अधिकार सुनिश्चित गर्दै वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, भरपर्दो र आयमूलक वनाउने सम्बन्धमा सहकार्य गर्ने प्रतिवद्धता दुवै पक्षवाट व्यक्त भएको छ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठनका मापदण्डहरुको आन्तरिकीकरण मार्फत् नेपालभित्रै मर्यादित श्रमको वातावरण सिर्जना गर्दै उत्पादनशील रोजगारी सिर्जना गर्न सहकार्य गर्ने विषयमा समान धारणा व्यक्त गर्दै शिष्टाचार भेटवार्ता सम्पन्न भएको थियो।