च्याउ उत्पादक किसान संघ नेपालको केन्द्रीय कार्यालयको समुद्घाटन


ललितपुर, घटस्थापनाको पावन अवसर पारेर आज ललितपुरको लुभुमा च्याउ उत्पादक किसान संघ नेपालको केन्द्रीय कार्यालयको विधिवत् पूजापाठसहित समुद्घाटन तथा सिलान्यास सम्पन्न भएको छ।

समुद्घाटन तथा सिलान्यास कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष सन्तोष कार्कीले गर्नुभएको थियो भने प्रमुख अतिथिको रुपमा संघका निवर्तमान अध्यक्ष पि.एम. अधिकारी, विशिष्ट अतिथि संघका निवर्तमान सह-अध्यक्ष चित्रराज तिमिल्सिना, हालका सह–अध्यक्ष सीताराम तिमिल्सिना, उपाध्यक्ष विजय ज्ञवाली, महासचिव विकास रिमाल, सचिव रमेश सापकोटा, कोषाध्यक्ष बिनोद पौडेल, केन्द्रीय सदस्यहरू लगायतका अतिथिहरूको उपस्थितिले कार्यक्रमलाई भव्य र ऐतिहासिक बनाएको थियो।

अध्यक्ष कार्कीले मन्तव्य राख्दै सबै सदस्य र कृषकको सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दै, संघलाई दीर्घकालीन स्थायित्व, समृद्धि र किसान हितका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाउनुभयो।

विशिष्ट अतिथि चित्रराज तिमिल्सिनाले संघको भावी यात्रामा आफू र आफ्नो संघले दृढ समर्थन रहने आश्वासन दिनुभयो।

त्यसैगरी, उपाध्यक्ष विजय ज्ञवालीले विगतमा “पकेट र मोबाइलमा मात्र सीमित” भएको संघ आज स्थायी कार्यालयमार्फत मूर्त स्वरूपमा परिणत भएकोमा गौरव प्रकट गर्दै यस उपलब्धिले सातै प्रदेश र ७७ जिल्लाका किसानहरूको साझा गौरवको इतिहास रच्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा अन्य पदाधिकारी तथा अतिथिहरूकाे धारणा राख्दै, संघले कृषकहरूको साझा आवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सशक्त रूपमा प्रस्तुत गर्ने, अनुसन्धान र प्रविधिलाई प्राथमिकता दिने र च्याउ उत्पादनलाई आत्मनिर्भर मात्र नभई व्यावसायिक तथा निर्यातमुखी बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

यो ऐतिहासिक सिलान्याससँगै च्याउ उत्पादक किसान संघ नेपाल अब अझ व्यवस्थित, सबल र दीर्घकालीन संस्थागत रूपमा अघि बढ्ने, किसानहरूको भविष्य र कृषिको व्यावसायिकतालाई मजबुत पार्ने तथा राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्ने मार्ग प्रशस्त भएको विश्वास गरिएको छ।