सुशीला कार्कीलाई सरकार प्रमुख बनाउन शीतल निवासमा छलफल


काठमाडौँ । जारी संकटलाई निकास दिन राष्ट्रपति कार्यालय शीतल निवासमा अहिले पनि छलफल जारी छ । जसमा प्रधानसेनापति, राष्ट्रपति र आन्दोलनरत जेन–जी समूहबाट नयाँ सरकारको नेतृत्वका लागि सिफारिस भएकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीसहित केही कानुनविद् पनि रहेको बुझिएको छ ।

स्रोतका अनुसार शीतल निवासमा संविधान अनुसार कसरी बाधा अड्काउ फुकाउने विषयमा कुरा भइरहेको छ । संविधान धारा ६१ (४) मा बाधा अड्काउ फुकाउको व्यवस्था गरिएको छ । धारा ६१ (४) मा ‘संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ’ भनिएको छ।

यो विषयमा राष्ट्रपतिलाई भीमार्जुन आचार्य र विपिन अधिकारीले पनि सुझाव दिएका थिए । राष्ट्रपति सकभर संसद् विघटन नगरी अगाडी जान खोजेपनि जेन–जी समूहका प्रतिनिधि भने संसद् विघटन नै गरेर जानुपर्ने अडानमा देखिएका छन् ।

संविधानको विद्यमान व्यवस्था अनुसार प्रधानमन्त्री हुन पहिलो सर्त नै प्रतिनिधिसभा सदस्य हुनुपर्छ ।

पूर्व प्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री बनाउन आपत्ति नभए पनि राष्ट्रपति पौडेलले सांसद नभएको व्यक्तिलाई कुन प्रक्रियाबाट नियुक्ति गर्ने भन्ने सवालमा संविधानविद्सँग लामो परामर्श गरेका हुन् ।

यति धेरै अपेक्षा र सपना छ आमजनतासँग !
जताततै आक्रोश, आवेग, प्रतिशोध, षड्यन्त्र र आशङ्का छन् !
आँखा अगाडि जलेको सिंहदरबार छ !
छेउमा खरानी बनेको न्यायालय छ !
खण्डहर बनेका सार्वजनिक सम्पत्तिको दृश्य मुटु कँपाउने खालका छन् !
देशभर उद्योग, कारखाना, निजी निवास र व्यवसाय पनि खरानी छन् !
जता छाम्यो त्यतै भरिन समय लाग्ने घाउहरू छन् !
प्रधानमन्त्री बस्ने कुर्सी पनि छैन, अफिस पनि छैन !
पूरै सिस्टम र राजनीति क्लीन गर्नुपर्ने पहाड़जत्रो आन्दोलनको म्यान्डेट छ !
देशभर शान्ति सुरक्षा ढलेको छ !
उठाउनुपर्ने धेरै कुरा छन् । भूकम्पले धरहरा ढलेको थियो, आज धेरै कुरा ढलेका छन् ! पहिले त विश्वास उठाउनुपर्ने छ । देशमा रहेको घृणा, अविश्वास, आक्रोश र निराशालाई इतिहास बनाएर राष्ट्रिय मेलमिलाप र सहकार्यको बाटो तय गर्नुपर्नेछ ! दलीय लोकतन्त्रमा दलप्रति नै जनआक्रोश र अविश्वास छ । दलबाहिरको मान्छेले विश्वास जितेर काम गर्न सजिलो छैन । दुबैबीच पुल बनेर देश र लोकतन्त्रलाई बलियो बनाउनुछ ।
सबैभन्दा ठूलो देशमा सुशासनको जग बसाल्नुछ ! समय साह्रै कम छ । देशसँग साधनस्रोत पनि कम छ !
पाइलापाइलामा अवरोध खड़ा गर्नेहरू पनि छन् ।

तर देशलाई एउटा सुनौलो बिहानीमा डोऱ्याउने अवसर पनि छ । समस्यामात्रै हुँदैन, त्यहाँ उपाय पनि हुन्छ ! त्यही खोज्न पर्नेछ ! अप्ठेरो छ र त अप्ठेरो गरी नेतृत्व छान्न परेको छ !
संविधानका धारा या कानुनका दाह्रा देखाएर यत्रो ठूलो आन्दोलनको म्यान्डेटलाई अपमान गरिरहन मिल्दैन । त्यो समय र औचित्य सकियो । कानुन भनेकै निकासका निम्ति हो ! बिस्कुन यति असरल्ल छ कि मान्द्रोको रङ्ग होइन, आकाशको घाम छोप्न पर्नेछ ! उहाँलाई कमजोर बनाएर, देखाएर देश बलियो बन्दैन ।

यत्रो विशाल जिम्मेबारी सम्हाल्दै गर्दा हाम्रा शुभकामनाले अलिकति भए पनि ऊर्जा थपून् ! एक पाइला भए पनि छिटो गन्तव्यमा पुगियोस् ! शुभकामना !🇳🇵
#Genznepal #SushilaKarki