मौद्रिक नीतिसँगै सुस्ताएको घरजग्गाको कारोबारमा भएन सुधार


काठमाडौं । नेपाल राष्ट्र बैंकले ल्याएको चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिसँगै सुस्ताएको घरजग्गाको कारोबारमा सुधार आउने अपेक्षा गरिए पनि घरजग्गा कारोबार झन् खस्किँदै गएको छ।

अर्थतन्त्र सुस्त तर सुधारोन्मुख रहेको निष्कर्षसहित नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो तथा उदार मौद्रिक नीति ल्याएको थियो । मौद्रिक उपकरणको खुकुलो प्रयोग, निजी क्षेत्रको पुँजी निर्माण र समस्यामै रहेका क्षेत्रलाई सहुलियत दिने गरी गभर्नर प्राडा. विश्वनाथ पौडेलले मौद्रिक नीति सार्वजनिक गर्नुभएको हो ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनमा नेपालभर ३१ हजार छ सय २१ वटा घरजग्गामात्र कारोबार भएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही महिनाको तुलनामा २८ प्रतिशतले कम हो भने गत असारको तुलनामा ४३ प्रतिशतले कम हो । गत असारमा ५५ हजार पाँच सय २४ घरजग्गा कारोबार भएका थिए ।

तथ्यांकअनुसार काठमाडौं उपत्यकामा मात्रै तीन हजार २० वटा घरजग्गा कारोबार भएको छ । ललितपुरको लगनखेलमा छ सय १६, गोटीखेलमा छ, भक्तपुरमा आठ सय २०, डिल्लीबजारमा एक सय ६३, चाबहिलमा तीन सय ६२, कलंकीमा चार सय ६६, मनमैजुमा २४, साँखुमा दुई सय ६३ र टोखामा एक सय ११ घरजग्गा कारोबार भएका छन् ।

नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेका अनुसार “लचिलो मौद्रिक नीति आए पनि कित्ताकाट रोकिँदा कारोबार प्रभावित भएको हो । स्थानीय तहले जग्गा वर्गीकरण नगर्दा कित्ताकाट हुन सकेको छैन । जसले घरजग्गा कारोबारमा ठूलो असर पारेको छ भने आर्थिक शिथिलता पनि मुख्य कारण” रहेको व्यवसायीहरूले बताएका छन् । उनीहरूका अनुसार भदौमा पनि घरजग्गा कारोबार निराशाजनक छ ।

घट्दो ब्याजदर अझै कम गर्न सघाउने गरी राष्ट्र बैंकले बैंक दरलाई ६.५ प्रतिशतबाट घटाएर छ प्रतिशत, निक्षेप संकलन दर तीन प्रतिशतबाट घटाएर २.२५ र नीतिगत दर पाँच प्रतिशतबाट घटाएर ४.५ प्रतिशतमा झारेको छ।

सजगतापूर्वक लचिलो प्रकृतिको भनिएको चालु आर्थिक वर्षको मौद्रिक नीतिबाट सरकारले लक्ष्य गरेको ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने गरी मुद्रास्फीतिलाई पाँच प्रतिशत हाराहारीमा राख्ने गरी तर्जुमा गरिएको गभर्नर पौडेलले बताउनुभएको थियो।

मागमा आएको संकुचन र अन्य वित्तीय समस्या सामना गरिरहेको अहिलेको निजी क्षेत्रमा जाने कर्जा वृद्धिदर १२ प्रतिशत रहने आँकलन मौद्रिक नीतिको छ । ब्याजदर न्यून हुँदा पनि लगानीका लागि निजी क्षेत्र आकर्षित नभएका बेला राष्ट्र बैंकले वित्तीय स्थायित्व कायम गर्दै कर्जाको पहुँच र गुणस्तर अभिवृद्धि गर्ने तथा कर्जाको अधिकेन्द्रीकरणलाई कम गर्न मौद्रिक उपाय र विवेकशील नियमनमा अग्रसर हुने गरी विभिन्न नियामकीय व्यवस्थामा तादात्म्य गरिएको जनाएको छ ।

लचिलो मौद्रिक नीतिसँगै बैंक तथा वित्तीय संस्थाहरूले पनि घरजग्गा सरल कर्जा योजना ल्याइरहेका छन् तर पनि घरजग्गाको कारोबार बढ्न नसकेको हो।