ललितपुर। दक्षिण एशियामा खाद्य सुरक्षा र कुपोषण अन्त्य गर्न सबै सदस्य राष्ट्रको साझेदारी अपरिहार्य रहेको विज्ञहरूले बताएका छन्।
ललितपुरमा सार्क कृषि केन्द्र, युनिसेफको क्षेत्रीय कार्यालय तथा संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा बोल्दै कृषि विज्ञ तथा सार्क सदस्य राष्ट्रका अधिकारीहरूले जलबायु परिवर्तनका कारण खाद्य सुरक्षामा चुनौती थपिएको भन्दै अनुकूलनका कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिए।

सार्क कृषि केन्द्रका निर्देशक डा. मोहम्मद हरुनुर रसिदले खाद्य प्रणाली रुपान्तरणमा सबै देशले सक्रिय भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याउँदै, सदस्य राष्ट्रबीच प्रविधि र ज्ञानको आदानप्रदानलाई प्राथमिकता दिनुपर्ने बताए।
कार्यक्रममा सहभागी विज्ञहरूले अझै पनि दक्षिण एशियाली मुलुकहरूमा धेरै बालबालिका कुपोषणबाट ग्रस्त रहेको उल्लेख गर्दै, गुणस्तरीय खाद्यान्नको पहुँच सुनिश्चित गर्न सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी पूर्व महानिर्देशक जीवनप्रभा लामाले कुपोषण अन्त्यका लागि सार्कका सबै देशले संयुक्त पहल गर्नुपर्ने बताइन्।

विज्ञहरूले कृषि उत्पादन लागत घटाउने, युवालाई कृषिमा आकर्षित गर्ने नीतिहरू अवलम्बन गर्ने तथा क्षेत्रीय साझेदारीमार्फत रोग–किराको नियन्त्रण गर्ने सुझाव पनि दिएका थिए।
साथै, कृषि प्रविधि र व्यापारमा भइरहेका भन्सार तथा गैरभन्सारजन्य अवरोध हटाई अनुसन्धानबाट प्राप्त नयाँ प्रविधिको साझा उपयोग गर्नुपर्नेमा छलफल भएको थियो।