काठमाडौं । नेपाल टेलिकम लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
विवरणअनुसार कम्पनीको सञ्चालन आम्दानी लगभग स्थिर रहेपनि वित्तीय आम्दानीमा ठूलो गिरावट आएको र कर खर्च बढेसँगै खुद नाफा उल्लेख्य रूपमा घटेको देखिएको छ।
अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३४ अर्ब ५६ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको टेलिकमले चालु वर्ष सोही अवधिसम्म ३४ अर्ब ५३ करोड रुपैयाँ आम्दानी गरेको छ।
तर वित्तीय आम्दानी ६ अर्ब ७८ करोड रुपैयाँबाट घटेर ३ अर्ब ७० करोड रुपैयाँमा सीमित भएपछि कुल आम्दानी ४२ अर्ब ११ करोड रुपैयाँबाट झरेर ३८ अर्ब ७३ करोड रुपैयाँमा पुगेको हो।
यसैगरी, चालु कर खर्च ११ करोड रुपैयाँबाट बढेर ४ अर्ब ७८ करोड ४४ लाख रुपैयाँ पुगेपछि कम्पनीको खुद नाफा अघिल्लो वर्षको ६ अर्ब २३ करोड ५५ लाख रुपैयाँबाट घटेर २ अर्ब ६६ करोड ८१ लाख रुपैयाँमा खुम्चिएको छ।