काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच ऊर्जा सहकार्य विस्तारका विषयमा छलफल भएको छ।
सिंहदरबारस्थित मन्त्रालयमा आज भएको शिष्टाचार भेटमा दुई देशबीच विद्युत् व्यापार, अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार, निर्माणाधीन ऊर्जा आयोजना समयमै सम्पन्न गर्ने र विद्युत् निर्यातको सीमा बढाउने विषय प्राथमिकतामा रहेका थिए।
मन्त्री श्रेष्ठले राजदूत दलेलालाई सफल कार्यकालको शुभकामना दिँदै नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउन ऊर्जा क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिए।
भेटमा अन्तरदेशीय विद्युत् प्रसारण लाइन विस्तारको सम्भावना र निर्माणाधीन परियोजनालाई निर्धारित समयमै सम्पन्न गर्न आवश्यक सहजीकरणबारे छलफल भएको थियो। साथै, नेपालबाट भारततर्फ विद्युत् निर्यातको सीमा बढाउने विषयमा पनि विचारविमर्श भएको थियो।
यसैगरी, नेपालमा सौर्य ऊर्जाको विकास तथा विस्तारमा भारतीय सहयोग र सहकार्यको सम्भावनाबारे छलफल भएको थियो। भूमिगत जलस्रोतको पुनर्भरणसम्बन्धी अध्ययन तथा अनुसन्धानमा पनि दुवै देशबीच सहकार्य गर्ने विषय उठेको थियो।
दुवै पक्षले ऊर्जा तथा जलस्रोतका क्षेत्रमा आपसी सहकार्यलाई थप प्रभावकारी बनाउँदै द्विपक्षीय हितका आयोजना अघि बढाउनेमा जोड दिएका थिए।