काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सचिवालयका सदस्यहरूको जिम्मेवारीमा हेरफेर गर्दै पाँच जनालाई संयोजक र पाँच जनालाई उपसंयोजक तोकेका छन्। सहसचिव तथा उपसचिव सरहका सचिवालय सदस्यहरूको कार्यसम्पादनका आधारमा जिम्मेवारी पुनःबाँडफाँट गरिएको हो।
नयाँ जिम्मेवारीअनुसार सन्जिव पाण्डेलाई विकास तथा मन्त्रालयगत समन्वय र सन्तोष गिरीलाई अन्तरनिकाय समन्वय संयोजक तोकिएको छ।
यसअघि उपसचिव सरहका सचिवालय सदस्य रहेका विशाल अधिकारीको पदोन्नति गर्दै सहसचिव सरहको सरकारी मामिला तथा योजना समन्वय संयोजक बनाइएको छ।
त्यस्तै, दीपा दाहाललाई मिडिया व्यवस्थापन संयोजक र विश्व राईलाई सामाजिक विकास समन्वय संयोजकको जिम्मेवारी दिइएको छ। यसपटक छुट्टै अनुसन्धान विज्ञको पद भने राखिएको छैन।
उपसचिव सरहको सेवा सुविधा पाउने गरी सुमन गौतमलाई नागरिक उड्डयन, रविकिरण अधिकारीलाई सामाजिक विकास, प्रकृति ढकाललाई स्वास्थ्य, विनय शाक्यलाई संस्कृति तथा सम्पदा र दिपकप्रसाद ओलीलाई नीति मस्यौदा तथा अध्ययन उपसंयोजक तोकिएको छ।
यसअघि सूचना प्रविधि विज्ञका रूपमा सहसचिव सरहको सेवा सुविधा पाउँदै आएका माधव खनाललाई भने सचिवालयबाट हटाइएको छ।
प्रधानमन्त्रीका उच्च तहका अन्य पदाधिकारी भने यथावत् रहेका छन्। कुमार व्यञ्जनकार (बेन) मुख्य सल्लाहकार, असिम शाह राजनीतिक सल्लाहकार तथा प्राडा जगदीशप्रसाद अग्रवाल स्वास्थ्य सल्लाहकारका रूपमा निरन्तर कार्यरत छन्।
प्रधानमन्त्री शाहले सचिवालयको कार्यसम्पादन र समन्वयलाई थप प्रभावकारी बनाउने उद्देश्यले जिम्मेवारी पुनःबाँडफाँट गरेका हुन्।