हिमालय जलवायु उत्थानशीलता संयन्त्रमा चीनको सहयोग खोज्दै मन्त्री चौधरी


अन्ताल्या। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चीनका पारिस्थितिकी तथा वातावरणमन्त्री ह्वाङ रुनछ्युसँग द्विपक्षीय भेटवार्ता गर्दै प्रस्तावित हिमालय जलवायु उत्थानशीलता संयन्त्र स्थापनाका लागि चीनको सहयोग र समर्थन अपेक्षा गरेकी छन्।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का अवसरमा बिहीबार भएको भेटवार्तामा हिमाली क्षेत्रमा बढ्दो जलवायु जोखिम र त्यसको सामना गर्न आवश्यक क्षेत्रीय सहकार्यका विषयमा छलफल भएको हो।

भेटमा मन्त्री चौधरीले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिम साझा र सीमापार चुनौती भएको उल्लेख गर्दै यसको सामना गर्न क्षेत्रीय सहकार्य अपरिहार्य रहेको बताइन्।

उनले गत अगस्ट २६ मा रसुवा–भोटेकोसी क्षेत्रमा आएको विपद्पछि चीनले उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गरिन्। साथै, माथिल्लो तटीय क्षेत्रको मौसम, हिमनदी तथा हिमतालसँग सम्बन्धित जोखिमबारे नियमित सूचना आदानप्रदान भइरहेकोमा पनि धन्यवाद दिइन्।

मन्त्री चौधरीले कोप–३१ को निर्णयमा पर्वतीय क्षेत्रका मुद्दालाई प्राथमिकता दिनुपर्ने नेपालको धारणा प्रस्तुत गरिन्। उनले विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभित्र सीमित राख्नुपर्ने तथा जलवायु परिवर्तनको प्रभावसँग जुध्न पर्याप्त अनुकूलन वित्त सुनिश्चित गर्नुपर्नेमा जोड दिइन्।

नेपालले हिमाली क्षेत्रको जलवायु जोखिमलाई अन्तर्राष्ट्रिय जलवायु एजेन्डामा प्राथमिकताका साथ समेट्न र प्रस्तावित हिमालय जलवायु उत्थानशीलता संयन्त्रमार्फत क्षेत्रीय सहकार्य विस्तार गर्न चीनको समर्थन खोजेको हो।