काठमाडौं। यस वर्षको तिहारअन्तर्गत भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बुधबार बिहान ११ बजेर ७ मिनेटमा रहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको तिहारका चाडपर्व तथा साइतसम्बन्धी विवरणअनुसार यस वर्षको भाइटीका सोही दिन मनाइनेछ।
समितिले जारी गरेको विज्ञप्तिमा भाइटीकाका दिन दाजुभाइ पश्चिम फर्केर र दिदीबहिनी पूर्व फर्केर टीका लगाउनुपर्ने उल्लेख गरिएको छ।

नेपाली हिन्दू धर्मावलम्बीको दोस्रो ठूलो चाड तिहार पाँच दिनसम्म विभिन्न धार्मिक तथा सांस्कृतिक विधिअनुसार मनाइन्छ। यमपञ्चकका रूपमा समेत चिनिने यस पर्वमा काग, कुकुर, गाई, गोरु र भाइटीकाको विशेष महत्त्व छ।
समितिले सार्वजनिक गरेको विवरणअनुसार तिहारका पर्वहरू निम्नअनुसार रहेका छन्।
– कात्तिक २० गते, शुक्रबार: धनत्रयोदशी (धन्तेरस) तथा यमदीपदान।
– कात्तिक २१ गते, शनिबार: काग तिहार तथा धन्वन्तरी जयन्ती।
– कात्तिक २२ गते, आइतबार: नरक चतुर्दशी, कुकुर तिहार तथा लक्ष्मीपूजा।
– कात्तिक २३ गते, सोमबार: गाईपूजा।
– कात्तिक २४ गते, मंगलबार: गोवर्द्धनपूजा, गोरूपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा। यसै दिन नेपाल संवत् ११४७ प्रारम्भ हुनेछ।
– कात्तिक २५ गते, बुधबार: यमद्वितीया तथा भाइटीका (किजापूजा)।
भाइटीका दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, आत्मीयता र पारिवारिक सम्बन्ध प्रगाढ बनाउने पर्वका रूपमा मनाइन्छ। यस दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै सप्तरङ्गी टीका, मखमली तथा सयपत्री फूलको माला लगाइदिने परम्परा छ।
समितिले सार्वजनिक गरेको शुभसाइतअनुसार बिहान ११ बजेर ७ मिनेटमा टीका लगाउनु उत्तम मानिए पनि साइतमा टीका लगाउन नभ्याउनेले दिनभर परम्पराअनुसार भाइटीका लगाउन सक्ने धार्मिक मान्यता रहेको छ।