काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष (COAS) जनरल धिरज सेठले अगस्ट १६ देखि १९ सम्म नेपालको औपचारिक भ्रमण गरी नेपाल–भारतबीचको रक्षा तथा सुरक्षा सहकार्यलाई थप विस्तार गर्ने विषयमा छलफल गरेका छन्।
काठमाडौं आगमनपछि जनरल सेठलाई नेपाली सेनाका उच्च अधिकारी तथा काठमाडौंस्थित भारतीय दूतावासका प्रतिनिधिले स्वागत गरेका थिए।
भ्रमणका क्रममा अगस्ट १७ मा उनले टुँडिखेलस्थित आर्मी पेभिलियनमा पुष्पहार अर्पण गर्दै राष्ट्रका लागि सर्वोच्च बलिदान दिएका वीर सैनिकप्रति श्रद्धाञ्जली व्यक्त गरे। त्यसपछि नेपाली सेना मुख्यालय पुग्दा उनलाई सैनिक सम्मानसहितको गार्ड अफ अनर प्रदान गरिएको थियो।
नेपाली सेनाका प्रधानसेनापति एवं भारतीय सेनाका मानार्थ महारथी जनरल अशोकराज सिग्देलसँगको भेटमा जनरल सेठले दुई देशबीचको द्विपक्षीय रक्षा सहकार्यलाई थप विस्तार गर्ने विषयमा छलफल गरे। सो अवसरमा भारतले विपद् पूर्वतयारी तथा मानवीय उद्धार क्षमतालाई सुदृढ बनाउन नेपाली सेनालाई विभिन्न सवारीसाधन तथा चिकित्सा उपकरण हस्तान्तरण गरेको थियो।
जनरल सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा
नेपाल र भारतबीचको पुरानो सैन्य परम्परालाई निरन्तरता दिँदै राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा जनरल धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरे।
मानार्थ दर्जा ग्रहण गरेपछि जनरल सेठले राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका थिए।
कमान्ड तथा स्टाफ कलेजमा अन्तरक्रिया
अगस्ट १८ मा जनरल सेठले शिवपुरीस्थित नेपाली सेना कमान्ड तथा स्टाफ कलेजको भ्रमण गरी त्यहाँका प्रशिक्षार्थी तथा प्राध्यापकहरूसँग अन्तरक्रिया गरे। अन्तरक्रियाका क्रममा दुवै देशका सेनाबीचको शैक्षिक तथा व्यावसायिक सहकार्यको महत्वबारे विचार आदानप्रदान भएको थियो।
त्यसपछि उनले प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता गरेका थिए। भेटमा नेपाल–भारतबीचको लामो समयदेखिको साझेदारी तथा विशेषगरी द्विपक्षीय रक्षा सहकार्यका विषयमा छलफल भएको थियो।
पोखरामा भारतीय भूतपूर्व सैनिकसँग भेट
भ्रमणको अन्तिम दिन अगस्ट १९ मा जनरल सेठ पोखरा पुगेका थिए। उनले नेपालमा रहेका भारतीय सेनाका भूतपूर्व सैनिकसँग भेटघाट गर्दै उनीहरूको सेवा, समर्पण र बलिदानप्रति सम्मान व्यक्त गरे।
कार्यक्रममा वीर नारी तथा वीरता पदक प्राप्त सैनिकहरूलाई सम्मान गरिएको थियो। साथै, भूतपूर्व सैनिकहरूको स्वास्थ्य तथा जीवनयापनमा सहयोग पुर्याउने उद्देश्यले उनीहरूलाई गतिशीलता सहयोगी उपकरणसमेत वितरण गरिएको थियो।
जनरल सेठले कोहलपुरस्थित भूतपूर्व सैनिक अंशदायी स्वास्थ्य योजना (ECHS) पोलिक्लिनिक भूतपूर्व सैनिक समुदायका लागि समर्पित गरे। पोलिक्लिनिक सञ्चालनमा आएसँगै नेपालमा रहेका भारतीय भूतपूर्व सैनिक तथा उनीहरूका आश्रितलाई स्वास्थ्य सेवा उपलब्ध गराउने संरचना थप सुदृढ हुने अपेक्षा गरिएको छ।
भारतीय सेनाध्यक्षको चारदिने नेपाल भ्रमणले नेपाल–भारतबीचको बहुआयामिक सम्बन्धलाई थप मजबुत बनाउँदै रक्षा तथा सुरक्षा, विपद् व्यवस्थापन, सैनिक शिक्षा र भूतपूर्व सैनिक कल्याणलगायत क्षेत्रमा सहकार्य विस्तार गर्न योगदान पुर्याएको भारतीय पक्षले जनाएको छ।