काठमाडौं। प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड ट्रेडिङ हाउसका अध्यक्ष सुरज वैद्य अनररी कन्सुलर कोर्प्स नेपाल (HCCN) का डिनमा निर्विरोध निर्वाचित भएका छन्।
काठमाडौंमा सम्पन्न अनररी कन्सुलर कोर्प्स नेपालको साधारणसभाले वैद्यलाई सर्वसम्मत रूपमा नयाँ डिन चयन गरेको हो। यसअघि बुल्गेरियाका लागि नेपालस्थित अनररी कन्सुल भोला थापा डिन थिए। साधारणसभाले पासाङ दावा शेर्पालाई उप–डिन (Vice Dean) मा पनि निर्वाचित गरेको छ।
नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) का पूर्वअध्यक्षसमेत रहेका वैद्य हाल फिलिपिन्सका लागि नेपालका अनररी कन्सुल हुन्। उनी नेपालको निजी क्षेत्रका अनुभवी व्यवसायीमध्ये एक मानिन्छन्।
आर्थिक कूटनीतिलाई प्राथमिकता
नवनिर्वाचित डिन वैद्यले आफ्नो कार्यकालमा प्रत्यक्ष वैदेशिक लगानी (FDI) आकर्षित गर्ने, पर्यटन प्रवर्द्धन गर्ने तथा आर्थिक कूटनीतिलाई सुदृढ बनाउने विषयलाई प्रमुख प्राथमिकतामा राख्ने बताएका छन्।
पदभार ग्रहणपछि जारी विज्ञप्तिमा उनले नेपाल र अन्तर्राष्ट्रिय समुदायबीचको सम्बन्धलाई अझ प्रभावकारी बनाउँदै व्यापार, लगानी र आर्थिक सहकार्य विस्तार गर्न सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
६४ भन्दा बढी देशसँग समन्वय
वैद्यका अनुसार अनररी कन्सुलर कोर्प्स नेपालले हाल विश्वका ६४ भन्दा बढी देशको प्रतिनिधित्व गरिरहेको छ। ती मुलुकहरूले विश्व अर्थतन्त्र, अन्तर्राष्ट्रिय व्यापार, प्रविधि, नवप्रवर्तन, पर्यटन तथा लगानीमा महत्वपूर्ण योगदान दिइरहेका छन्।
उनले पाँच अर्बभन्दा बढी जनसंख्या र करिब १०० ट्रिलियन अमेरिकी डलरभन्दा बढीको संयुक्त आर्थिक आकार भएका ती मुलुकसँग नेपालको सम्बन्ध विस्तार गर्नु आर्थिक विकासका लागि ठूलो अवसर भएको उल्लेख गरेका छन्।
सरकार र निजी क्षेत्रबीच सेतु बन्ने
वैद्यले अनररी कन्सुलहरूको भूमिका सरकार–सरकारबीचको सम्बन्धमा मात्र सीमित नरही निजी क्षेत्र, लगानीकर्ता, उद्यमी, शैक्षिक संस्था तथा नागरिक समाजबीच सहकार्य विस्तार गर्ने सेतुका रूपमा रहेको बताए।
उनका अनुसार आफ्नो कार्यकालमा नेपाल सरकार, सम्बन्धित मन्त्रालय, संवैधानिक निकाय तथा निजी क्षेत्रसँग समन्वय गर्दै सदस्य राष्ट्रहरूसँगको सम्बन्धलाई थप सुदृढ बनाइनेछ।
लगानी, पर्यटन र प्रविधि हस्तान्तरणमा जोड
नयाँ नेतृत्वले गुणस्तरीय विदेशी लगानी भित्र्याउने, पर्यटन प्रवर्द्धन गर्ने, प्रविधि तथा ज्ञान हस्तान्तरणलाई प्रोत्साहन गर्ने, व्यापार र बजार पहुँच विस्तार गर्ने तथा शैक्षिक र सांस्कृतिक आदान–प्रदानलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।
वैद्यले नेपालको दिगो विकासका लागि सरकार, निजी क्षेत्र, कूटनीतिक समुदाय र नागरिक समाजबीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै HCCN को अन्तर्राष्ट्रिय सञ्जाल र अनुभवलाई नेपालको विकास प्राथमिकतासँग जोड्न आफू प्रतिबद्ध रहेको बताए।
उनले कूटनीतिक समुदाय, विकास साझेदार तथा निजी क्षेत्रसँग सहकार्य गर्दै नेपालको अन्तर्राष्ट्रिय छवि सुदृढ पार्ने, नयाँ आर्थिक अवसर सिर्जना गर्ने र विश्व समुदायसँग नेपालको सम्बन्धलाई अझ बलियो बनाउने दिशामा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा वैद्यले आफूलाई डिनको जिम्मेवारीमा निर्विरोध चयन गरेकोमा HCCN का सदस्यहरूप्रति आभार व्यक्त गर्दै निवर्तमान नेतृत्वले संस्थालाई दिएको योगदानको पनि प्रशंसा गरेका छन्।