दक्षिण एसियाली स्ट्रीट डिफेन्स प्रतियोगिता आज देखि काठमाडौंमा शुरु


काठमाडौं । नेपाल जित कुन डो मार्सल आर्ट एसोसिएसनको आयोजनामा आज जुन १४, २०२६ मा “साउथ एसियन इन्भिटेसन एसडीटी (Street Defense Tournament)” राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा आयोजना भएको हो।

त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा जुन १४ र १५ मा संचालन हुनेछ। उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा दक्षिण एसियाका चार राष्ट्र नेपाल, भारत, बंगलादेश र अफगानिस्तान लगायतका पचास खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगितामार्फत स्ट्रीट डिफेन्स तथा आत्मरक्षा कलाको प्रवर्द्धन गर्नुका साथै दक्षिण एसियाली मुलुकबीच खेलकुद तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्य राखिएको छ।

समारोहका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव राम चरित्र मेहता, विशेष अतिथि टोखा नगरपालिका वडा नं. ४ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठ तथा नेपाल जित कुन डो मार्सल आर्ट एसोसिएसनका अध्यक्ष रामबहादुर ठकुरीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै एसोसिएसनका शिव बहादुर थापाले खेल र खेलाडीको महत्वबारे प्रकाश पार्नुभएको थियो। उहाँले खेलकुदले व्यक्तिको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमताको विकासमा खेलकुदको योगदान उल्लेख गर्नुभयो। साथै, खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउन यस्ता प्रतियोगिताहरू प्रभावकारी माध्यम बन्ने धारणा व्यक्त गर्नुभयो।

नेपाल जित कुन डो मार्सल आर्ट एसोसिएसनद्वारा आयोजित प्रतियोगितालाई टोखा नगरपालिकाले सहयोग गरेको छ। प्रतियोगितामा विभिन्न विधाका आत्मरक्षा सीप, प्राविधिक प्रदर्शन तथा प्रतिस्पर्धात्मक खेलहरू समावेश गरिने जनाइएको छ।

आयोजकका अनुसार प्रतियोगिताले युवा पुस्तामा आत्मरक्षा सम्बन्धी चेतना अभिवृद्धि गर्नुका साथै अन्तर्राष्ट्रिय स्तरमा नेपाली खेलाडीको क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नेछ। प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको र सहभागी राष्ट्रका टोलीहरूसँग समन्वय भइरहेको आयोजकले जनाएको छ।

दक्षिण एसियाली स्तरको यस प्रतियोगिताले नेपाललाई मार्सल आर्ट तथा आत्मरक्षा खेलकुदको महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्न समेत योगदान पुग्ने विश्वास गरिएको छ।