काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार रोबिन शेरचनलाई जिताउन जापानस्थित एनआरएनए प्रतिनिधि र अभियन्ताहरु एकमत भएका छन्।
बिहिबार राजधानीमा आयोजित एक विशेष भेलाले शेरचनको पक्षमा माहोल बनाउँदै उनलाई जसरी पनि ‘जिताएरै छोड्ने’ उद्घघोष गरेको हो।
भेलाले शेरचनको चुनावी अभियानलाई थप व्यवस्थित र प्रभावकारी बनाउन जापानलाई चारवटा रिजन (क्षेत्र) मा विभाजन गरेर विशेष चुनावी टोली (टिम) खटाउने निर्णय गरेको छ। सबै मिलेर उनलाई जिताउने रणनीतिका साथ चारवटै रिजनमा आजैदेखि टोली परिचालन गरिसकिएको छ।
भेलामा कोषाध्यक्ष सुदन थापा सहितका पाँच दर्जनभन्दा बढी एनआरएन जापानका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
एनआरएनए अभियानमा जापान टिम सधैं सशक्त रहेको बताउँदै उपस्थित प्रतिनिधिहरुले यसपटक संस्थाको शुद्धीकरणका लागि शेरचनको नेतृत्व अपरिहार्य रहेको निष्कर्ष निकालेका छन्। सिंगो जापान टिम एकढिक्का भएर लाग्ने प्रतिबद्धता भेलामा व्यक्त गरिएको छ।
जापान एकताबद्ध भएर लाग्ने भएसँगै रोबिन शेरचनको पक्षमा व्यापक माहोल बनेको बताइएको छ। शेरचनको पक्षमा माहोल बनेसँगै हेमराज शर्मा पक्षको टिम रक्षात्मक बनेको छ। हेमराजलाई एनआरएनए वृत्तमा नरुचाउने भएका कारण शेरचनको पक्षमा माहोल बनेको हो।
एनआरएनको १२औँ महाधिवेशन शनिबारदेखि काठमाडौँमा सुरु हुँदैछ।