एनआरएनएद्वारा उच्च सतर्कता अपनाउन आग्रह


मध्यपूर्व क्षेत्रमा हाल विकसित भइरहेका घटनाक्रमले इजरायल, इरान, कतार, कुवेत, युएई, बहराइन लगायतका देशहरूमा बसोबास गरिरहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सुरक्षाप्रति गम्भीर चिन्ता बढाएको छ। मध्यपुर्वका देशहरुमा उत्पन्न यस कठिन परिस्थितिमाझ १९ लाख भन्दा बढी नेपालीहरुको सुरक्षा मुख्य प्राथमिकतामा राखी आवश्यक कदम चाल्नु जरुरी छ।

यस संवेदनशील परिस्थितिलाई ध्यानमा राख्दै, इजरायल, इरान तथा मध्यपूर्वका अन्य देशहरूमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई निम्न सावधानी अपनाउन हार्दिक अनुरोध गरिन्छ:
 सम्बन्धित देशका सरकारी निकाय तथा नेपाली राजदूतावासहरूले जारी गरेका सुरक्षा निर्देशनहरू कडाइका साथ पालना गर्नुहोस्।
 अत्यावश्यक बाहेक बाहिर ननिस्कनुहोस् र सुरक्षित स्थानमै बस्नुहोस्।
 अनावश्यक यात्रा नगर्नुहोस् तथा स्थानीय अवस्थाबारे निरन्तर जानकारी राख्नुहोस्।
 राष्ट्रिय समन्वय परिषद्हरू (NCC), गैरआवासीय नेपाली संघको सचिवालय, स्थानीय नेपाली समुदाय, नेपाली राजदूतावास र सम्बन्धित निकायहरूसँग नियमित सम्पर्कमा रहनुहोस्।
 हालको अवस्था सामान्य नभएसम्म इजरायल, इरान तथा मध्यपूर्वका अन्य देशहरूमा यात्रा गर्ने योजना स्थगित गर्नुहोस्।

यसका साथै, नेपाल सरकार, परराष्ट्र मन्त्रालय र सम्बन्धित देशका नेपाली राजदूतावासहरूलाई त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे निरन्तर जानकारी लिई, उनीहरूको तत्काल सहायता र सुरक्षित व्यवस्थापनका लागि अविलम्ब प्रभावकारी कदम चाल्न गैरआवासीय नेपाली संघ अनुरोध गर्दछ यसका लागि आवश्यकता अनुसार नेपाल सरकारसँग सहकार्यका लागि समेत तत्पर रहेको जानकारी गराउँदछ।

अन्त्यमा, विश्वभर रहेका नेपालीहरूको सुरक्षा हाम्रो साझा प्राथमिकता हो। संघले नेपाली समुदायको सुरक्षाप्रति सदैव प्रतिबद्ध रहेको पुनः विश्वास दिलाउँछ र आवश्यक परेमा समन्वय, सहकार्य तथा सहयोगका लागि सधैं तत्पर रहने जानकारी गराउँदछ।

अत्यावश्यक सम्पर्कका लागि
९८०१८६११०० / ९८०१८६११२३
डा. बद्री केसी, अध्यक्ष/ महेश कुमार श्रेष्ठ, अध्यक्ष