विवाह पञ्चमी, धार्मिक तथा सांस्कृतिक महत्त्व !


शैलेन्द्र कुमार ठाकुर, विवाह पञ्चमी, भगवान श्रीराम र माता सीताको दिव्य विवाहको स्मरण गर्ने पावन अवसर हो, जसले प्रेम, आदर, सदाचार, विश्वास, सद्भाव र धार्मिक आस्थाको मूल्यलाई उजागर गर्दछ ।

यस अवसरमा मधेश प्रदेशको राजधानी जनकपुरधाममा परम्परागत रूपमा मनाइने साताव्यापी महोत्सवले नेपालको मौलिक संस्कृति र सामाजिक एकतालाई जीवन्त राख्दै आएको छ ।

राम–सीताको प्रतिमा र झाँकीसहित ‘नगरदर्शन’ बाट शुरु हुने यो महोत्सव ‘फुलबारी लिला’, ‘धनुष यज्ञ’, ‘तिलकोत्सव’, ‘मटकोर’, ‘राम–सीताको स्वयम्बर–विवाह’ अनुष्ठान गर्दै अन्तिम दिन ‘रामकलेवा’ गरी सम्पन्न हुन्छ ।

यस अवसरमा गरिने लोकनृत्य, गुञ्जिने लोकगीत–संगीत, मौलिक झाँकीको प्रदर्शन, भजन–कीर्तन लगायतका अनुष्ठानले सिंगो देश र समुदायलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्दछ ।

विवाह पञ्चमीको अवसरमा भारतको अयोध्याबाट सन्त महन्थहरुसहितको श्रद्धालु भक्तजनहरुको जन्ती जनकपुरधाम पुग्ने पौराणिक रीतिरिवाजले नेपाल र भारतबीचको ऐतिहासिक, रोटीबेटी, सांस्कृतिक र धार्मिक सम्बन्धलाई थप प्रगाढ, सुदृद्ध र बलियो बनाउने विश्वास लिएको छु ।

अन्त्यमा, यस अवसरमा सीता–रामको विशेष पूजाअर्चनाले परिवार, समाज र राष्ट्रमा सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास रही आएको छ ।

विवाह पञ्चमी, २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिको लागि हार्दिक मंगलमय शुभकामना छ । ।
#शैलेन्द्र कुमार ठाकुर #