सामाजिक सुरक्षा कोषले गर्याे १ खर्ब २६ अर्ब रुपैयाँ लगानी,


काठमाडौँ। सामाजिक सुरक्षा कोषले हालसम्म विभिन्न क्षेत्रमा १ खर्ब २६ अर्ब रुपैयाँ लगानी गरेको छ। योगदानकर्ताबाट संकलित ९५ अर्ब रुपैयाँसहित कोषको अतिरिक्त पूँजीलाई मुद्दती खाता, सरकारी ऋणपत्र, डिबेन्चर र म्युचुअल फन्डमा लगानी गरिएको छ।

कोषका कार्यकारी निर्देशक कविराज अधिकारीका अनुसार – ५८ अर्ब ८९ करोड बैंकका मुद्दती खातामा, ३२ अर्ब १९ करोड ट्रेजरी बिलमा, २१ अर्ब ७६ करोड विकास ऋणपत्रमा, ४ अर्ब ५२ करोड डिबेन्चरमा र १ अर्ब ९५ करोड म्युचुअल फन्डमा लगानी गरिएको छ।

साथै, सामाजिक सुरक्षा कोषले २० हजार योगदानकर्तालाई सापटी योजनाअन्तर्गत ७ अर्ब ७९ करोड ८३ लाख रुपैयाँ उपलब्ध गराइसकेको छ। विशेष सापटीको ब्याजदर ५.२ प्रतिशत र घर तथा शैक्षिक सापटीको ब्याजदर ५.८६ प्रतिशत रहेको छ।

अधिकारीले योगदानकर्तालाई सहुलियतपूर्ण सापटी लिन आग्रह गर्दै कोषले योजनाबद्ध रूपमा काम गर्न सके वार्षिक १ खर्ब रुपैयाँसम्म संकलन गर्न सकिने बताए। उनका अनुसार संकलित रकम उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सके आम्दानी र रोजगारी दुवै बढाउन सकिन्छ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले “कोषको रकम केवल मुद्दती र ऋणपत्रमा सीमित नराखी उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने सुझाए।”

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष जगतबहादुर सिम्खडाले पनि “लगानीको दायरा बढाउन आवश्यक रहेको बताए।” उनका अनुसार अनौपचारिक क्षेत्रमा अझै लाखौं श्रमिक सामाजिक सुरक्षाबाट बञ्चित छन्।

२०७५ मङ्सिर ११ गते औपचारिक क्षेत्रबाट सुरु भएको सामाजिक सुरक्षा कार्यक्रम क्रमशः वैदेशिक रोजगार, अनौपचारिक तथा स्वरोजगार क्षेत्र, र २०८२ वैशाख देखि सार्वजनिक क्षेत्रमा विस्तार भएपनि अनौपचारिक क्षेत्रलाई दायरामा ल्याउन चुनौती कायम  रहेको छ।

यसै अवसरमा सामाजिक सुरक्षा कोषले उत्कृष्ट योगदानकर्ता सम्मानसमेत प्रदान गरेको छ।

उत्कृष्ट योगदानकर्ता सम्मान

भाटभटेनी सुपर स्टोरका अध्यक्ष मीनबहादुर गुरुङलाई आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी योगदानकर्ता जोड्ने र मासिक योगदान रकम बुझाउने संस्थाका रूपमा सम्मान गरिएको हो।

गुरुङले जेनजी आन्दोलनमा क्षतिग्रस्त २१ स्टोरमध्ये १२ वटा पूर्णरूपमा ध्वस्त भएको र पुनर्निर्माण कार्य भइरहेको जानकारी दिए। उनका अनुसार ११ वटा भाटभटेनी स्टोर २०८३ असारभित्र पुनः सञ्चालनमा ल्याइनेउनलेे बताएका छन्।

लक्ष्मी सनराइज बैंकसहित अन्य एक दर्जन संस्थालाई पनि सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा दिवसको अवसरमा सम्मान गरेको छ।