मकवानपुर। प्रदेश सरकारको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठले सेवाग्राहीलाई छिटो, सहज र प्रभावकारी ढङ्गबाट सेवा उपलब्ध गराउन मातहतका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
उहाँले मकवानपुर जिल्लाको उद्योग वाणिज्य कार्यालयको अनुगमन गर्ने क्रममा सेवाग्राहीको गुनासोलाई सम्बोधन गर्नु कार्यालयको पहिलो प्राथमिकता रहेको स्पष्ट पार्दै, कार्यालयलाई व्यवस्थित बनाउन नयाँ भवन निर्माणको प्रक्रिया अघि बढिसकेको जानकारी दिनुभयो ।
मन्त्री श्रेष्ठको मन्त्रालय मातहतको कार्यालयमा भएको पहिलो अनुगमन भ्रमण हो । अनुगमनका क्रममा कार्यालय प्रमुख रामप्रसाद भुसालले स्वागत गर्दै गत आ.व.को कार्य प्रगति र चालु आ.व.को कार्य योजना प्रस्तुत गर्नुभएको थियो ।
हाल जिर्ण अवस्थामा रहेको मकवानपुर उद्योग वाणिज्य कार्यालय भवनका कारण सेवाग्राहीलाई कठिनाइ हुने गरेको जनाउँदै मन्त्री श्रेष्ठले सुविधा सम्पन्न भवन निर्माण भएपछि सेवा अझ सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यालय भवन निर्माणका लागि मन्त्रालयबाट रु. २ करोड ५० लाख बजेट विनियोजन भइसकेको छ र यही आर्थिक वर्षदेखि निर्माण प्रक्रिया अघि बढाइने भएको छ ।
यससँगै मन्त्री श्रेष्ठले सेवाग्राहीलाई प्राथमिकतामा राख्दै सबै कर्मचारीलाई पारदर्शी, चुस्त-दुरुस्त र नतिजामुखी कार्यशैली अपनाउन निर्देशन दिनुभएको छ ।