नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालले भदौ ३ गतेदेखि ८ गतेसम्म ‘नाडा अटो शो २०२५’ आयोजना गर्दैछ ।
यसवर्ष चाडवाडको सुरुवात हुने समयमा आयोजना हुने नाडा अटो शो भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुँदैछ।
शोको उद्घाटन उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गर्नेछन्।
यो केवल प्रदर्शनी मात्र नभई, नेपालको दिगो, स्मार्ट र भविष्यमुखी मोबिलिटीको प्रतिबिम्ब भएको नाडाले जनाएको छ ।
“Go For More” भन्ने नारासहित आयोजना हुने यस वर्षको शोले नवीनतम् प्रविधि, ग्राहक र अटो क्षेत्रका सबै सरोकारवालालाई एकै छानामुनि ल्याउनेछ ।
नाडा अटो शो २०२५ मा चारपांग्रे रोबोटहरू र उड्ने कार विशेष आकर्षणका रुपमा रहने छन्।
स्वचालन र बुद्धिमत्ताको नयाँ युगको प्रतीकस्वरूप उन्नत चार पाङ्ग्रे रोबोटहरू ‘UNITREE’ रहने छन् ।
भविष्यको शहरी हवाई मोबिलिटीको पहिलो झलकका रुपमा ‘Deepal eVTOL UAV (उड्ने कार) पनि झन विशेष आषर्कण रहने छ ।
१९ वटा चारपांग्रे ब्रान्डहरू, १३ वटा हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू, ४ वटा दुईपांग्रे सवारी ब्रान्डहरू, ३५ कम्पनीहरू (ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्थाहरू)सहित १२५ भन्दा बढी स्टलहरु रहने छन् ।
१ लाखभन्दा बढी आगन्तुकले भ्रमण गर्ने अपेक्षा गरिएको यस १ लाख ६२ हजार ५ सय वर्गफुट प्रदर्शनी क्षेत्रसहित नेपालकै अहिलेसम्मकै सबैभन्दा ठूलो अटो शो हुने नाडाले जनाएको छ ।