कोदो बालीको संरक्षणमा सरोकारवालाहरूको जोड


काठमाडौँ। कोदो बालीको संरक्षणमा सरोकारवालाहरूले जोड दिएका छन्।

प्रथम राष्ट्रिय कोदो दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै वक्ताहरूले कोदो नेपालका लागि महत्त्वपूर्ण बाली भएको बताए।

नेपाल कोदो तथा फापर संघको आयोजना, कृषि उद्यम केन्द्र, आर एण्ड डि लगायतका संघ संस्थाको सहआयोजनामा शुक्रबार कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले देशमै कोदो उत्पादन बढाएर आयात घटाउनु पर्ने बताए । नेपालको सबै पहाडी क्षेत्रमा कोदो उत्पादन हुने गरेको बताउदै उनले कोदो प्रवर्द्धनमा जोड दिए।

नेपाल कोदो तथा फापर संघका अध्यक्ष एवं कृषि उद्यम केन्द्रका सभापति डि.बि. बस्नेतको सभापतित्व आयोजित कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले कोदो संघ पनि महासंघको सदस्य बनेको र महासंघले पनि कोदो प्रवर्द्धनमा भूमिका खेल्ने बताए ।

कार्यक्रममा कृषि उद्यम केन्द्रका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र जोशी र बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव देवकोटाले कार्यपत्र प्रस्तुत गरेका थिए।

कार्यक्रममा महासंघका केन्द्रीय सदस्यहरु, बस्तुगत संघका अध्यक्ष एवं प्रतिनिधिहरु, संघका पदाधिकारी एवं सदस्यहरु लगायतले आफनाे भनाइ राखेका थिए ।

विभिन्न कृषि क्याम्पसका शिक्षक एवं विद्यार्थीहरुको समेत कार्यक्रममा उपस्थिति थियो। कार्यक्रम स्थलमा कोदोका विभिन्न उत्पादन प्रदर्शनी गरिएको थियो।

उठेका जिज्ञासा माथि प्रकाश पार्दै कोदो संघ अध्यक्ष डि.बि. बस्नेतले कोदो संरक्षणको मुख्य उद्देश्यले संघ स्थापना भएको बताए । कोदो उत्पादन बढाउने, बाहिर निर्यात गर्ने, उपभोग बढाउने, व्यवसाय बिस्तार गर्ने, उद्योग स्थापना गर्ने लगायतका विविध सुझाव कार्यक्रममा सहभागीहरूले दिएका छन् ।

कार्यक्रममा कृषि उद्यम केन्द्रका उपसभापति राजकुमार कार्कीले स्वागत मन्तव्य राखेका थिए। ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ मूल नारासहित मनाइएको कार्यक्रमबारे प्रस्ट्याउने काम कृषि उद्यम केन्द्रका बोर्ड सदस्य सुनिता न्यमाफुकीले गरेकी थिइन्।

कृषि तथा पशुपन्छि विकास मन्त्रालयको तथ्याङ्क अनुसार, आर्थिक वर्ष २०८०/८१ मा २ लाख २४ हजार ९३५ हेक्टरमा कोदोजन्य बाली खेती भएको थियो । ३ लाख ७ सय ३२ मेट्रिक टन कोदो उत्पादन भएको तथ्यांक छ।