भक्तपुर। भक्तपुरस्थित चाँगुनारायण मन्दिरमा आज बिहानदेखि दर्शनार्थीको भीड लागेको छ।
विश्व सम्पदा सूचीमा सूचिकृत सो मन्दिरमा आज नागपञ्चमीको मेला भर्ने भक्तजनको घुइँचो लागेको हो।
चाँगुनारायण मन्दिरमा पूजा एवं दर्शन गरेपछि घरघरमा नाग टाँस्ने प्रचलन छ। बिहानदेखि मध्यपुर, थिमिबाट आएको गुँला बाजाले मन्दिर प्रदक्षिणा गरेको छ।
मन्दिरदेखि दक्षिणतर्फ ओरालोमा रहेको ऐतिहासिक शङ्खदह (साङ्ग दह)मा स्नान गर्न आउनेको पनि भीड छ ।
शङ्ख दहमा स्नान गर्ने, पूजा गर्ने र दान गर्नेको भीड लागेको मन्दिरका पुजारी आभास राजोपाध्यायले जानकारी दिनुभयो ।
शङ्खदहमा स्नान गरेर चाँगुनारायण मन्दिरमा आएर शिव र विष्णुको पूजा गर्ने परम्परा रहेको छ।
चाँगुनारायण मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपाध्यायले हरेक वर्ष नागपञ्चमीमा बिहानदेखि दिनभर दर्शनार्थीको भीड लाग्ने बताउनुभयो ।
उहाँले मन्दिरभित्र भक्तजनले एकै पटक शिव र विष्णुको दर्शन गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “नागपञ्चमी नाग देवतासँग सम्बन्धित छ।चाँगुनारायण मन्दिर आज दिनभर दर्शनार्थीको भीड लाग्ने गर्छ।”