‘श्रम संसार पोर्टल’लाई थप सुधार गरेर सञ्चालन गर्छौं: श्रममन्त्री भण्डारी


काठमाण्डाैं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले एकीकृत श्रम व्यवस्थापन पोर्टल ‘श्रम संसार’ पोर्टललाई थप सुधार गरेर वैदेशिक रोजगारलाई व्यवस्थित गरिने बताउनुभएको छ ।

सोमबार श्रम मन्त्रालयमा आयोजित कार्यक्रममा श्रम संसार पोर्टलको थप सुधारका विषयमा जानकारी दिँदै श्रममन्त्री भण्डारीले पोर्टलमा आपतकालीन सहायताको व्यवस्थाबारे गरिने जानकारी दिनुभयो ।

श्रम संसार पोर्टलमा वैदेशिक रोजगारका क्रममा उद्घारको ‘मोड्युल’ तयारबारे उहाँले बताउनभयो।

श्रम संसारमा कन्सुलर सेवासहित विस्तार गरिएकाले विदेशी भूमिमा नेपालीलाई थप सुविधा उपलब्ध भएको श्रममन्त्री भण्डारीले बताउनुभयो।

“यस पोर्टलमा ‘च्याट बट’को  व्यवस्था गर्दैछौँ । प्रयोगलाई थप सरल र सहज बनाउनका लागि विकल्पका रूपमा प्रयोगकर्ताले बोलेर पनि सेवा लिन सक्नुहुनेछ”, उहाँले भन्नुभयो, “अहिले सामाजिक सञ्जालमा उद्घारका लागि याचना गरिरहनु भएकाले यस पोर्टलमा फोटो र भिडियो राख्नसक्नुहुन्छ । उहाँहरू कहाँ हुनुहुन्छ त्यस ठेगाना तुरुन्त पत्ता लगाउन सक्नेगरी यसमा सुधारको काम हुँदैछ।”

कार्यक्रममा श्रममन्त्री भण्डारीले यस पोर्टलले बेरोजगार व्यक्तिलाई शिक्षा, सीप  तथा दक्षता अभिवृद्धिका लागि सहयोग गर्ने बताउनुभयो।

उहाँले एकीकृत श्रम व्यवस्थापन पोर्टल श्रम संसारले रोजगारदाता (व्यक्ति वा प्रतिष्ठान)लाई श्रमिकसँग जोडनका साथै स्वरोजगारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार यसले स्वरोजगारलाई समेत प्रवर्द्धन गर्नेछ।

सोही कार्यक्रममा मन्त्री भण्डारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा सम्बद्ध सेवाहरुलाई ‘डिजिटल’ प्रविधिमा रुपान्तरण गर्ने गरी रणनीतिक कार्ययोजनाबारे समेत चर्चा गर्नुभयो।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठले आन्तरिक रोजगारको ‘रोडम्याप’ बनाउने काममा आयोग लागिपरेको बताउनुभयो।

उहाँले ‘डिजिटल डिभाइट’बारे स्मरण गराउँदै पोर्टलको प्रयोग सबैले गर्नसक्ने बनाउनुपर्नेतर्फ पनि सचेत गराउनुभयो।

यस पोर्टलमा अहिलेसम्म देशभरका ६८९ पालिका आबद्ध भएको मन्त्रालयले जनाएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा व्यवस्थापनका लागि डिजिटलाइजेसन कार्ययोजना (मस्यौदा)बारे मन्त्रीको श्रमविज्ञ सल्लाहकार युवराज बस्नेतले चर्चा गर्नुभयो।

उहाँले पोर्टलमा स्वास्थ्य परीक्षण र अभिमुखीकरण, आर्टिफिसियल इन्टेलिजेन्स र वैदेशिक रोजगारका क्रममा उद्घारको मोडयुल तयार भएको जानकारी दिनुभयो ।

मन्त्रालय अन्तर्गतको आन्तरिक रोजगार व्यवस्थापन महाशाखाका प्रमुख कृष्णप्रसाद सापकोटाले पोर्टलले श्रम बजारका सूचना अद्यावधिक र एकीककृत श्रम तथा रोजगार तथ्याङ्क व्यवस्थापन गर्ने बताउनुभयो।