Mar 7, 2025

सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको नेपाल राष्ट्र बैंकको भनाइ


काठमाडौँ – नेपाल राष्ट्र बैंकले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको स्पष्ट पारेको छ ।

केही व्यक्ति तथा समूहले दिएको अभिव्यक्ति र दुष्प्रचारप्रति ध्यानाकर्षण भएको भन्दै राष्ट्र बैंकले पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको स्पष्ट पारेको हो ।

‘बैंक तथा वित्तीय संस्था सञ्चालनको पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको र यस बैंकले बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकोले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको ब्यहोरा अनुरोध छ’, राष्ट्र बैंकले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

बैंकिङ जस्तो संवेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित गर्न दुष्प्रचार गर्ने कार्यको पछाडि नलागी सम्बद्ध लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई ढुक्कसँग नियमित रूपमा बैंकिङ कारोबार गर्न बैंकले अनुरोध गरेको छ ।

पछिल्लो समयमा इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूको पुँजीकोषको अवस्था, कर्जा निक्षेप अनुपातको अवस्था एवम् तरलताको अवस्थासम्बन्धी परिसूचकहरू निर्देशनअनुरूप नै रहेको पनि बैंकले जनाएको छ ।