काठमाडौं। नेपालमा यसवर्षको ३१औं विश्व आदिवासी दिवस ऐतिहासिक ढंगले मनाइने भएको छ।
पहिलो पटक आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान (नेफ्डिन), संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (FAO) र युनेस्को नेपालको संयुक्त सहकार्यमा यो दिवस श्रावण २२ गते (अगस्ट ७, २०२५) काठमाडौंको ऐतिहासिक बसन्तपुर दरबार क्षेत्रमा भव्यरूपमा आयोजना गरिनेछ।
ललितपुरस्थित FAO सभाहलमा सोमबार सम्पन्न विशेष बैठकले कार्यक्रमलाई व्यवस्थित बनाउन विभिन्न उपसमितिहरू गठन गरेको छ।
कार्यक्रमको उपसमितिमा मञ्च व्यवस्थापन, अतिथि स्वागत, सांस्कृतिक प्रस्तुति, प्रचार–प्रसार, झाँकी, स्वयंसेवक परिचालन, भेषभूषा र परिकार व्यवस्थापन समावेश छन्।
कार्यक्रममा छ सयभन्दा बढी सहभागी हुने अनुमान गरिएको छ। सहभागीमध्ये करिब ५ सय जना नेपालभरिका आदिवासी जनजाति र भाषाभाषी समुदायका प्रतिनिधिहरू हुनेछन् भने संयुक्त राष्ट्रसंघीय एजेन्सी, विदेशी पाहुना तथा सरोकारवाला संघ–संस्थाका प्रतिनिधिहरू पनि उपस्थित रहनेछन्।
विस भन्दा बढी जनजातिको सांस्कृतिक झाँकी र नृत्य प्रदर्शन नेवारी संस्कार, संस्कृति र परिकारसहित “राष्ट्रिय आदिवासी जनजाति सम्मेलन समारोह” को आयोजना, थारु परिकारहरूको प्रदर्शनी र प्रवर्द्धन, नेवारी भाषाको डिजिटाइजेशनसम्बन्धी जानकारी (गुगल ट्रान्सलेटमा हालै समावेश भएको सन्दर्भमा) मातृभाषा, जलवायु परिवर्तन, पर्यटन र आत्मनिर्णयको अधिकार विषयमा जनचेतनामूलक सन्देश
नेफ्डिनका उपाध्यक्ष रेशम गुरुङले पहिलोपटक युनेस्को र एफएओसँग सहकार्यमा दिवस आयोजना हुन लागेकोमा प्रसन्नता व्यक्त गर्दै आदिवासी समुदायको भाषा, भेषभूषा र परम्परालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने अवसर भएको बताए।
सदस्य सचिव ज्ञानेन्द्र पुनले काठमाडौंको सांस्कृतिक पहिचान झल्किने गरी नेवारी परिकार र संस्कारलाई प्राथमिकता दिइएको जानकारी गराउँदै, थारु परिकार स्टलमार्फत तराई क्षेत्रको विविधता उजागर गरिने बताए।
राष्ट्रिय र अन्तर्राष्ट्रिय सन्देश
राष्ट्रिय सन्देश: “समावेशीताको पूर्ण कार्यान्वयनमार्फत आदिवासी जनजातिको समृद्धि, समृद्ध नेपाल निर्माणको आधार हो।”
अन्तर्राष्ट्रिय सन्देश:
“मातृभाषा, खाना, वातावरण र जीवनशैलीमा आत्मनिर्णयको अधिकार सुनिश्चित गरौं।”
३१औं विश्व आदिवासी दिवस यसपालि सांस्कृतिक मात्र नभई अधिकार र पहिचानको अभिव्यक्तिको ऐतिहासिक अवसर बन्ने भएको छ। कार्यक्रमले नेपालको सांस्कृतिक विविधता र आदिवासी जनजातिको योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा उजागर गर्ने अपेक्षा गरिएको छ।