काठमाडौं। राष्ट्रिय किसान समूह महासंघ (एनएफजिएफ)ले आज काठमाडौंमा “राष्ट्रिय स्तरको किसान खेत तथा व्यवसाय विद्यालय (एफएफबीएस) सिकाइ र विस्तार अन्तरक्रिया कार्यक्रम” आयोजना गर्यो ।
कार्यक्रममा किसान खेत तथा व्यवसाय विद्यालय मोडेलको आवश्यकता, उद्देश्य, अवधारणा, अभ्यास र नवप्रवर्तनका विषयमा गहिरो छलफल गरिएको थियो।
राष्ट्रिय किसान समूह महासंघका प्रतिनिधि अच्युत पी. ढकाल, केदार र दिलीपको संयुक्तरूपमा प्रस्तुति दिएका थिए भने कृषि तथा वन विश्वविद्यालयका डा. हिमाल लुइँटेलले छलफलका मुख्य अंशहरू प्रस्तुत गरे।
- यस कार्यक्रममा प्रस्तुत कार्यपत्रमा संघीय संरचनापछि कमजोर बनेको कृषि विस्तार प्रणालीलाई मजबुत बनाउन किसान खेत तथा व्यवसाय विद्यालय मोडेलले खेलेको भूमिका वर्णन गरिएको छ।
उक्त कार्यक्रममा केयर नेपालकी निर्देशक निलकण्ठा पाण्डे, कृषि विभागका उपमहानिर्देशक ललन कुमार सिंह, पशु सेवा विभागका महानिर्देशक रामनन्दन तिवारी, कृषि मन्त्रालयका सहसचिव डा. हरि बहादुर केसी र कृषिविद राजेन्द्र कोइरालालगायतले निष्कर्ष र सुझाव दिएका थिए।
कार्यक्रममा विशेषगरी साना किसान र भूमिहीन महिलालाई नेतृत्व कौशल, आधुनिक कृषि प्रविधि, व्यवसायिक ज्ञान, वित्तीय साक्षरता, बजार पहुँच र जलवायु परिवर्तनको प्रभावसँग जुझ्न सहयोग गर्ने कार्यक्रमका उपलब्धिहरू प्रस्तुत गरिएका थिए ।
- सिरहाको ताडा क्षेत्र यस मोडेलको सफल उदाहरण हो, जहाँ १८ हजार ४ सय किसान परिचयपत्र वितरण गरिएको छ ।
- ३७ भूमिहीन परिवारले ४८ हेक्टर जमिन लिजमा लिएर खेती गरिरहेका छन् ।
- ९३ प्रतिशत महिला किसान एफएफबीएस समूहमा आबद्ध छन् ।
धनगढीमाई नगरपालिका लगायत छवटा स्थानीय तहले एफएफबीएसलाई आफ्नो मुख्य कृषि विस्तार प्रणालीको रूपमा अंगीकरण गरेका छन। - मधेश प्रदेश सरकारले ५०० महिला स्वयंसेवक किसान परिचालन गरी प्रविधि विस्तारमा सहयोग गरिरहेको छ ।
- कार्यक्रमले जैविक मल, झोलमल, शून्य जोत प्रणालीजस्ता जलवायु अनुकूल कृषि अभ्यासहरू प्रवर्द्धन गरेको छ ।
- सामुदायिक बीउ उत्पादन मोडलमार्फत ४१ टन गहुँको बीउ बिक्री भएको छ भने खेती गर्ने क्षेत्रफल ४.२८ हेक्टरबाट ९.४६ हेक्टर पुगेको छ।
- यस मोडेलले किसानलाई आत्मनिर्भर बनाउन र कृषिको दिगो विकासमा ठूला योगदान पुर्याएको छ ।
कार्यक्रमको उपलब्धि र समापन मन्तब्य राष्ट्रिय किसान समूह महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठले गरेका थिए।