कृषि अनुदान दुरुपयोग गरेकाहरुलाई कारवाही गर्ने अन्तिम तयारी


विगतमा कृषि अनुदान दुरुपयोग गरेकाहरुलाई कारवाही गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको कृषि मन्त्री रामनाथ अधिकारीले बताउनु भएको छ।

नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उहाँले अनुदान दुरुपयो गरेकाहरुलाई कारवाहीको प्रक्रिया सम्वन्धीत निकायले अन्तिम चरणमा पुरयाएको जानकारी दिनु भएको हो ।

उहाँले भन्नुभयो, “देशभरी विगतमा वितरण गरिएका अनुदानको कसरी प्रयोग भएको थियो भन्ने बारेमा छानविन गरी विवरण संकलन गरिएको छ, अव केही दिनमा कारवाही प्रक्रिया अगाडि बढ्छ । केही दिनमा सार्वजनिक हुन्छ।”
उहाँले आगामी दिनमा कृषिको अनुदानको एक हजार रुपैया पनि दुरुपयोग नहुने व्यवस्था आफूले मिलाएको दावी पनि गर्नुभयो ।

विगतमा करोडौको अनुदान पहुँचवालाले दुरुपयोग गरेर असली किसानले अनुदान नपाएकोमा अवदेखि खास किसानले अनुदान पाउने र दुरुपयोग गर्नेहरुले नपाउने कडा व्यवस्था गरिएको उहाँको भनाई छ ।

कृषि मन्त्री अधिकारले अवदेखि कसैले पनि निवेदनका भरमा अनुदान नपाउने ठोकुवा गर्नुभयो। उहाँले भन्नुभयो, विगतमा एउटा निवेदनका भरमा करोडौका अनुदान लैजाने र दुरुपयोग गर्ने भएको रहेछ, अव पहिले जस्तो हुन दिदैनौँ, कडा मापदण्ड बनाइएको छ, त्यसका आधारमा मात्रै अनुदान वितरण गरिन्छ ।